प्रदेश ४ का सांसदलाई ४५ हजार तलव, सभामुखको ५३ हजार

प्रकाश ढकाल
पोखरा, बैशाख १ ।
प्रदेश ४ को प्रदेशसभाले सभामुखको तलव ५३ हजार कायम गरेको छ । उनलाई बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोविल १० लिटर, विल अनुसारको धारा विजुली, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ हुनेछ भने अतिथि सत्कारका लागि ५ हजार रुपैयाँ तोकिएको छ । सभामुखले राजपत्राकिंत तृतिय श्रेणीको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी राख्न पाउनेछन् । गाडी र आवास तथा फर्निचरको ब्यवस्था सरकारले नै मिलाउनेछ ।

उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापतिलाई तलव बाहेक लगभग सबै सुविधा समान छ । उपसभामुख र दलका नेताले ५० हजार र सभापतिले ४९ हजार तलव पाउनेछन् । उनीहरुले बैठक भत्ता ७ सय ५०, सञ्चार १ हजार ५ सय, निजी सचिवालय बन्दोवस्तीका लागि १ हजार ७ सय ५०, धारा विजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार हुनेछ । यसबाहेक उपसभामुखले आवास सुविधा पाउनेछन् भने सभापतिले १५ हजार घरभाडा पाउनेछन् ।

फर्निचरका लागि विपक्षी दलका नेता र उपसभामुखलाई सरकारले दिनेछ भने सभापतिले ५० हजार पाउनेछन् । उपसभामुखलाई ईन्धन १ सय लिटर र मोविल ५ लिटर, अतिथि सत्कारको ३ हजार उपलब्ध गराईनेछ । राजपत्र तृतिय श्रेणीको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी पनि उपसभामुख र विपक्षी दलको नेतालाई दिईनेछ । ३ हजार रुपैयाँ अतिथि सत्कारको रकम पनि विपक्षी दलका नेताले पाउनेछन् । दलका सचेतक र प्रदेशसभा सांसदहरुको उस्तै सुविधा छ ।

सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलव पाउँछन् । उनीहरु सबैलाई बैठक भत्ता ७ सय ५०, सञ्चार सुविधा १ हजार ५ सय, आवासका लागि १५ हजार, फर्निचरका लागि ५ बर्षको ५० हजार, धारा बिजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ प्रश्ताव गरिएको छ । सभाबाट पारित भएको ऐन प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि मात्रै लागू हुनेछ ।