प्रदेश ४ संसदमा विषयगत समिति गठन (कुन समितिमा को ?)

पोखरा, चैत ७ ।
मंगलबारको संसद बैठक अन्यौलका बीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाईएपनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यब्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदभित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद भएपछि संसद बैठक साढे २ घण्टा पछि सरेको हो । संसद सञ्चालन नियमावलीमा हरेक समितिमा ११ सदस्य हुने किटान गरिसकेको छ । तर एमालेले भने सदस्य संख्या बढाएर १३ पु¥याउन सिफारिस गरेपछि अरु पार्टीले प्रश्ताव स्विकारेनन् । ‘भर्खरै बनाएको नियमावली लागू भएको १५ दिनमै संशोधन गर्नु उचित होईन । सदस्य बढाउनका लागि मात्रै संशोधन गर्दा गलत नजिर बस्छ, काँग्रेस सांसद कुमार खड्काले भने–अहिले यसैमा टेकेर समिति गठन गरौं । आवश्यक परे पछि थपौंला ।’ माओवादी केन्द्र, जनमोर्चा र नयाँ शक्ति पनि सदस्य नथप्ने पक्षमा छन् । तर एमालेले भने समितिमा सबै सांसद अटाउने अधिकार भएकाले संख्या थप्नुपर्ने जनाएको छ । ‘११ जना समितिमा राख्दा ६ जना सांसदहरु समिति बाहिर हुनुहुन्छ । त्यसैले सबैलाई समेट्न पनि सजिलो हुने र अधिकार प्रयोग गर्न पनि पाउने भएकाले यो प्रश्ताव ल्याएका हौं, एमाले सांसद किरण गुरुङ भन्छन्–यसले प्रदेशसभाका सबै सदस्यको समानता कायम हुन्छ । अपनत्व महशुस गराउन सकिन्छ ।’ मंगलबार गठन भएका समितिमा एमालेले पूरै सदस्य पठाएको छैन भने अरु पार्टीका सदस्य पूर्ण भैसकेका छन् ।
फागुन २७ गते गठन भएको विधायन समितिमा ३ जना थपिएका छन् । यसअघि ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा एमालेका मोहन रेग्मी, काँग्रेसका विष्णुप्रसाद लामिछाने, माओवादीकी आशा कोइराला, जनमोर्चाका टेकबहादुर घर्ती र नयाँ शक्तिकी धनमाया लामा पोख्रेल पहिले नै चयन भएका थिए भने काँग्रेसकी ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली र माओवादीबाट चन्द्रबहादुर बुढा अहिले थपिएका छन् । मंगलबार गठन भएको सार्वजनिक लेखा समितिमा काँग्रेसबाट ओमकला गौतम, बिन्दुकुमार थापा, प्रकाशचन्द्र दवाडी, मेखलाल श्रेष्ठ, एमालेका रामबहादुर गुरुङ, माओवादी केन्द्रकी गायत्री गुरुङ, दिलमाया रोका र जनमोर्चाकी पियारी थापा छन् । प्रदेश मामिला समितिमा काँग्रेसका चिन्ताबहादुर घले, मनकुमारी गुरुङ, कोपीला बोहरा, माओबादीकी मधुमाया अधिकारी, दीपक थापा र एमालेकी मित्रकुमारी गुरुङ सुवेदी चयन भए । उता अर्थ र विकास समितिमा चाहीँ माओवादीका दीपक कोइराला, विनोद केसी, काँग्रेसका दोवाटे विश्वकर्मा, सरिता गुरुङ, भगवतप्रकाश मल्ल, जनमोर्चाका कृष्ण थापा, एमालेका जनकलाल श्रेष्ठ र नयाँ शक्तिका हरिशरण आचार्य चयन भएका छन् ।