प्रदेश ४ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने (यस्तो छ समीकरण)

पोखरा, फागुन २५ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) विश्वासको मत लिँदैछन् । मन्त्रीपरिषद् गठन भएको २२ दिनपछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको हो । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शुक्रबारको संसदसभाबाट विश्वासको मत लिने निर्णय गरेको सरकारका प्रबक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले जानकारी दिए । सबै सांसदको विश्वास लिने गरी गृहकार्य भैरहेको उनले बताए । संविधान अनुसार सरकार गठन भएको ३० दिनभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने ब्यवस्था छ ।
गुरुङको पक्षमा बहुमत सांसदले समर्थन दिनुपर्छ । बहुमत नपुगे तुरुन्तै अर्को मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुन्छ । गुरुङले वाम गठबन्धन बाहेक अन्य दलका सांसदसँग पनि समर्थन लिन गृहकार्य गरिरहेका छन् । प्रदेश ४ मा वाम गठबन्धनबाट ३९ जना सांसद छन् भने प्रतिपक्षमा रहेका ३ दलसँग २० र १ स्वतन्त्र सांसद छन् । यद्यपी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सपथ ग्रहण कार्यक्रमदेखि नै संसदसभामा सहभागी छैनन् । गठबन्धनभित्र एमालेको मात्रै २७ र १२ सांसद माओवादीका छन् ।