अधिकारी दाजुभाईको कृषि मोह
प्रकाश ढकाल
पोखरा, भदौ ३० ।
पढेको मान्छेले गर्ने काम उसको पढाईमा निर्भर हुन्छ । पढेकाहरु सकेसम्म सरकारी जागिर खान्छन् नत्र ब्यापार ब्यवसाय र त्यो पनि नभए बिदेश हुत्तिने चलन छ । बाबुबाजेले गरेका काम पछ्याउने निकै कम मात्रै छन् नेपालमा । खेती किसानी गर्नेहरु झन् न्यून । नेपाल र कृषि परस्पर सम्बन्धित मानिन्छन् । तर कृषिमा लाग्ने नेपालीहरु छैनन् । कृषि पढ्ने र यो पेशामा लागेका उदाहरण भेट्न निकै गाह्रो छ । बरु फरक बिषय पढेर कृषिमा रम्नेहरु चाहीँ अचेलभरी कतैकतै भेट्न पाईन्छ ।
कालिकाका २४ बर्षिय प्रकाशरमण अधिकारी सानै उमेरदेखि गाईपालनमा लागे । बाबु र दाजुहरुसँगै गाईगोठमा खेल्न थालेको दश बर्ष भैसक्यो । आधुनिक पशुपालनबारे एक बर्षसम्म उनले इजरायलमा पुगेर तालिम समेत लिए । सीप सिकेर उनी नेपाल फर्किए अनि पूरानै पेशामा निरन्तर लागिरहेका छन् । अहिलेपनि कसरी गोठको ब्यवस्थापन चुस्त बनाउने भन्नेमै उनको दिन बित्छ । ‘बिदेशमै राख्न बिदेशीहरुले धेरै लोभ पनि देखाए । कम मेहिनतमा धेरै आम्दानी गर्छन् उतातिर, प्रकाशले भने–हामीजस्ता बढी मेहिनत गर्नेहरु पाए त खुशी भएर जागिर दिन्छन् । तर मेरो मनले गाउँ विर्सिन मानेन ।’ पितापुर्खाको लगावले आँफुलाई पनि गाउँमै केही गरेर देखाउने साहस बढेको प्रकाश सुनाउँछन् ।
‘युवाजति शहरमा बेरोजगार छन् । गाउँघरमा पाखुरी साँट्ने मान्छे पाईँदैनन्, प्रकाशका बुबा विश्वरमण भन्छन्–मेरा छोराहरु चाहीँ गाउँ छोड्न मान्दैनन् । मलाई यसैमा गर्व छ ।’ उनका तीनै छोराहरुले बाबुको पीछा छोडेका छैनन् । अधिकारी परिवारको कालिका र बगरमा ब्यवसायीक फार्म छ । कालिकामा तरकारी खेतीसँगै गर्छन् भने बगरमा गाई र भैँसी मात्रै पालेका छन् । १५ बर्षअघि ब्यवसायिक रुपमा गाईपालन थालेका उनीहरुले २०६९ सालमा सरोज पशुपालन तथा अर्गानिक कृषि फार्म दर्ता गरेका छन् । ‘गाई पाल्न थाल्दा फार्म चलाउने योजना थिएन । घरका केटाकेटीलाई भनेर एउटा मात्रै गाई पाल्यौं, प्रकाशका दाजु सरोजले भने–छिमेकीले पनि दुध माग्न थाले । एउटा दुईटा गर्दै गोठमा गाई थपिँदै गयो ।’ अहिले उनीहरुको गोठमा साना ठूला ६० बढी गाईभैँसी छन् । तिमध्ये आधाजसो दुहुना छन् । ‘करोड बढी लगानी लागिसक्यो । फार्म बढाउन पुँजी पुग्दैन, उनले थपे–सरकारले अनुदान र ऋण पनि सघाउँछ भन्ने सुनेका थियौं । हामीले त देख्न पनि पाएका छैनौं ।’
अधिकारी परिवारले दिनकै दुई सय ४० लिटर दुध बजारमा विक्रि गर्छन् । तीनै दाजुभाई दुध बेच्न ग्राहकको घर घरमा पुग्छन् । गाई भैँसीको रेखदेख गर्न परिवार बाहेक आठ जना कर्मचारी पनि राखेका छन् । बगर स्थित संस्कृत विद्यालय परिसरको तीन रोपनी जग्गा भाडामा लिएर उनीहरुले गाईपालन गरेका हुन् । २६ हजार रुपैयाँ मासिक विद्यालयलाई भाडा बुझाउँछन् । त्यसबाहेक विद्यालयको पूरै जग्गामा बार्षिक ५० हजार तिरेर घाँस काट्न पाउँछन् । सबै गाईको बीमा पनि गरेका छन् ।
गाईपालन र तरकारी खेतीलाई नमूनाकै रुपमा चिनाउने योजना रहेको अर्का भाई शैलेन्द्रले सुनाए । ब्यवसायिक पालन थालेको सुरुमै खोरेतले गोठै रित्याएपछि २५ वटा गाईमा गरेको लगानी डुब्यो । ‘अहिले त गाई विरामी भएपनि उपचार गर्न डाक्टर चाहिँदैन । कुन रोग लाग्दा कुन औषधी दिने हामी आँफैलाई थाहा छ, उनले भने–पढेर भन्दा परेर सिकिँदो रहेछ । नत्र ब्यवस्थापन बिषयका विद्यार्थीलाई किसानी सजिलो पेशा होईन ।’ शैलेन्द्रले स्नातकोत्तर पढेका छन् भने प्रकाश र सरोजले स्नातक पास गरेका छन् ।
गाई मरेर नोक्सान भएपनि उनीहरुको हिम्मत मरेको छैन । पुर्खाको दैनिकी समातेरै अधिकारी दाजुभाई गाई पालेर मज्जासँग जमेका छन् । मासिक खर्च कटाएर डेढ लाख बढी आम्दानी हुने शैलेन्द्र बताउँछन् । फार्मलाई थप ब्यवस्थित र विस्तार गर्ने योजना सहित छिट्टै पूरानै ठाउँ कालिकामा फार्म स्थापना गर्न लागेको उनले बताए । २०६९ सालमा देशभरीमै उत्कृष्ट फार्मको रुपमा सरोज पशुपालन तथा अर्गानिक कृषि फार्म सम्मानित भएको थियो ।