फोरम भित्र्याउन ओलीको कसरत (यस्तो छ सहमति)

काठमाण्डौं, फागुन १६ ।
संविधान संशोधनका एजेन्डा सम्बोधन गर्न सत्ता नेतृत्व गरिरहेको नेकपा एमाले र संघीय समाजवादी फोरमबीच मंगलबार सहमतिको प्रारम्भिक खाका तयार भएको छ । सम्भवतः सहमतिपत्रमा आज हस्ताक्षर हुने फोरमका एक नेताले बताए। त्यसपछि फोरमले पाउने मन्त्रालयबारे टुंगो लाग्नेछ । दुवै दल सम्मिलित अनौपचारिक कार्यदलका नेताहरुले सहमतिको नजिक पुगेको बताउँदै बुधबार सहमतिपत्रमा हस्ताक्षर हुने बताएका छन् । कार्यदलले गरेको सहमतिलाई दुवै दलका शीर्ष नेताले अध्ययन गरिरहेका छन् ।
फोरमलाई सरकारमा ल्याउने प्रयास स्वरुप एमालेले संविधान संशोधनमा लचकता देखाएको हो । फोरम सरकारमा सहभागी भएसँगै वर्तमान सत्ता गठबन्धन दुई तिहाइको बन्नेछ । यसका साथै, फोरम सरकारमा आए प्रदेश २ मा मधेस आन्दोलनले उठाएका राजनीतिक मुद्दा व्यवस्थापन गर्न सकिने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको विश्वास छ ।
एमाले र फोरमका नेता सम्मिलित अनौपचारिक कार्यदलले तयार पारेको सहमतिको प्रारम्भिक खाका यस्तो छ–संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्ने विषयलाई उचित समयमा संशोधन गर्ने । आपसी सहमतीका आधारमा संशोधनको प्रक्रिया अगाडि बढाउने । संविधान संशोधनका एजेन्डामा आधारित माग र मुद्दालाई सरकार आफैंले अगाडि बढाउने । फोरमसहितको सहभागितामा नयाँ सरकारको नीति र कार्यक्रम ल्याउने । संघीय समाजवादी फोरम ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ । फोरमलाई सरकारमा ल्याउने कसरतकै कारण सोमबार मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।