सभामुख अधिकारीको आग्रह–राम्रा समाचार लेखिदिनुस्

पोखरा, फागुन ७ ।
प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले संसदभित्रका राम्रा कुरालाई मात्रै प्रचार गरिदिन आग्रह गरेका छन् । नयाँ संरचनामा सरकार चलेकाले केही कमी कमजोरी भएपनि राम्रा पक्षहरुलाई बाहिर ल्याईदिन उनको आग्रह छ । ‘देश संघीय संरचनामा छ । हामी नयाँ बिषय सिकिरहेका छौं, उनले भने–केही कमजोरी हुन सक्छ । राम्रा बिषय मात्रै पत्रकारले लेखिदिनुहोला ।’ उनले कर्मचारी, पत्रकार लगायत सबैको सहयोगमा संघीताको सफल कार्यान्वयन गर्ने बताए । प्रदेश सभा सचिवालयका कर्मचारीका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा सभामुख अधिकारीले सिकाइ र अनुभवका हिसाबले सुरुवाती चरण भएकाले संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
संघीय संसद सचिवालयले सोमबार प्रदेश ४ का संसदमा काम गर्ने कर्मचारीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । कर्मचारीका सभा सञ्चालनबारे अभ्यस्त नभएकाले जानकारीका लागि अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा संसदमा विधि व्यवस्थापन र संसदीय प्रक्रियामा सञ्चार जगतको भूमिका, सांसद सुविधा लगायत बिषयमा प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सहजीकरण गरेका थिए भने उपसचिव गोपाल सिग्देलले संसदभित्रको प्रश्न ब्यवस्थापन बारे जानकारी गराएका थिए । संसदीय समिति, काम कारबाही र प्रक्रिया बारे संसदीय विज्ञ कर्मचारी टोलीका सदस्य अनन्त कोइरालाले प्रदेश सचिवालयका कर्मचारीलाई सामान्य तरिकाले बुझाउन लागेको बताए । कार्यक्रममा संसदीय रिपोर्टिङमा चासो राख्ने पत्रकारहरु पनि उपस्थित थिए ।