जनयुद्धका कमिसार कृषि मन्त्री
पोखरा, फागुन ५ ।
गोरखाको तत्कालीन ताप्ले गाविसमा जन्मिएका लेखबहादुर थापामगर १८ बर्षकै उमेरदेखि राजनीतिमा होमिएका हुन् । २०३२ सालमा जन्मिएका उनी २०५० सालमा गोरखा क्याम्पसको मगर विद्यार्थी संघमा अध्यक्ष भएर काम गरेका थिए । सोही समयमा गोरखा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीको सदस्य भएर उनले राजनीतिक जीवनको थालनी गरेका हुन् । उनी २०५३ देखि माओवादी जनयुद्धमा भूमिगत भएर निरन्तर लोकतन्त्रको पक्षमा लडिरहे । भूमिगत हुँदाताका नै थापाले २०५४ देखि २०५७ करिब ४ बर्षसम्म जेल जीवन (गोरखा, भैरहवा, विरगञ्ज र कास्की कारागार) बिताउका छन् । जेलबाट छुटेपछि पुनः भूमिगत भएर २०५८ सालमा स्क्वार्ड, जनमुक्ति सेनाको प्लाटुन, कम्पनी हुँदै बटालियन कमिसारसम्म बने ।
२०६० मा गोरखा जिल्लाको माओवादी ईञ्चार्ज भएर खटिएका उनी २०६१ मा जिल्ला जिल्ला सेक्रेटरी, सोही समयमा क्रान्तिकारी जिल्ला जनपरिषद्को गोरखा अध्यक्ष भएका थिए । २०६२ मा तमुवान राज्य सदस्य बनेका थापा २०६४ मा तमुवानको सचिवालय सदस्य हुँदै २०७० मा माओवादी केन्द्र गोरखाको अध्यक्ष (तत्कालीन नेकपा माओवादी) बनेका हुन् । २०७२ सालमा माओवादी केन्द्र केन्द्रिय सदस्य (तत्कालीन एकीकृत नेकपा माओवादी), २०७३ देखि नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा माओवादीको गोरखा जिल्ला अध्यक्षको रुपमा कार्यरत छन् । उनी मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय उपाध्यक्ष समेत हुन् । थापा गत मंसिर १० को चुनावमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । यसबाहेक उनीसँग तत्कालीन गोरखा जिल्ला विकास समितिमा माओवादीको तर्फबाट पार्टी प्रतिनिधीको रुपमा काम गरेको अनुभव पनि छ ।
मन्त्रीमा नियुक्त भएपछि थापाले जमीनको अध्ययन गरेर कृषि पकेट र कृषि सुपर जोन कार्यक्रम लागू गर्ने बताए । उनले भूउपयोग नीति बनाएर जग्गाको बर्गीकण गरेका कृषि क्षेत्रमा ल्याण्ड पोलिङ र ल्याण्ड डेभ्लप्मेन्टको वाध्यकारी कानून बनाउने प्रतिबद्धता जनाए । मन्त्री थापाले खेती योग्य जमिनलाई न्यूनतम शर्तमा लिजमा दिने, व्यवसायीक खेती गर्नेलाई स्पष्ट नीतिगत रुपमा सुविधाको प्याकेज घोषणा गर्ने, कृषकको परिचय तथा वर्गीकरण गरिने, कृषि पर्यटनलाई वढावा दिनेगरि मन्त्रालयले कार्यक्रम संचालन गर्ने उल्लेख गरे ।