जाँदाजाँदै देउवाले ओलीमाथि गरे यस्तो कटाक्ष

काठमाण्डौं, फागुन ३ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकाल सम्पन्न गरी बिदा हुँदै गर्दा देउवाले संविधान कार्यान्वयनको नेतृत्व गरौँला भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवासबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले संविधानअनुसार तीन तहका निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । ’स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा निर्वाचित निकायको गठनबाट समृद्ध नेपाल निर्माणका लागि मजवुत लोकतान्त्रिक आधारशिला निर्माण भएको’ देउवाको दावी छ । सम्बोधनका क्रममा देउवाले आफूले गरेका राम्रा कामको फेहरिस्त प्रस्तुत गरेका छन् ।
४९ वर्षको उमेरमा पहिलोपटक २७ भदौ २०५२ मा प्रधानमन्त्री निर्वाचित देउवा पछिल्लोपटक २३ जेठ ०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो सम्झौताबाट प्रधानमन्त्री चुनिएका थिए । दोस्रोपटक ११ साउन ०५८ मा प्रधानमन्त्री बनेका देउवा २१ जेठ ०६१ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । ’बीपी कोइरालाको प्रेरणाबाट २०२२ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिँदा त्यसबेलाको युवक शेरबहादुर देउवालाई संविधानसभाबाट संविधान निर्माण गरी समृद्ध नेपाल निर्माण गर्ने बीपीको सपना पूरा गर्ने अभियानको संविधान कार्यान्वयन चरणको नेतृत्व म आफैले गरौंला भन्ने लागेको थिएन’, आफ्नो युवावस्था स्मरण गर्दै देउवाले भनेका छन्, ’नेपालको अत्यन्त विकट डडेल्धुरा जिल्लामा जन्मेको, ५० वर्ष भन्दा लामो राजनीतिक यात्रामा करिब ९ वर्ष जेल जीवन बिताएको व्यक्तिका लागि यो कार्य सम्पन्न गर्न सक्नु सन्तोषको विषय भएको छ ।’
’नेपाली कांग्रेसको सभापतिको हैसियतमा समावेशी राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि बाँकी जीवन समर्पित रहने’ देउवाको प्रतिबद्धता छ । २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बनाउने कार्यमा अवरोध भएको सन्दर्भ उठाउँदै देउवाले सबैजसो राजनीतिक उथलपुथलमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको जिकिर गरेका छन् । संविधान निर्माण प्रक्रियाबाट अलग समुदायलाई सहमतिमा ल्याइ संविधान सर्वस्वीकार्य बनाउन सबै दललाई निर्वाचनमा सहभागी गराउन आफू नेतृत्वको सरकार सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरेका छन् । ’राजनीतिक सहमतिका साथ सबै दलहरुलाई निर्वाचनमा सहभागि गराउनु पर्ने थियो । यस्तो अवस्थामा मेरो नेतृत्वमा नयाँ सरकार गठन भयो’, देउवाले सम्बोधनमा भनेका छन्, ’सबै दलहरूको सहभागितामा प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचन तथा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन सफल भयौँ ।’
ओलीमाथि आरोप
देउवाले जाँदाजाँदै नाम नलिइकन एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्न भ्याए । वाम गठबन्धनका तर्फबाट नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हाल्न लागेका ओलीलाई देउवाले ’राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने’ भनेका छन् । संविधान घोषणाबाट असन्तुष्ट मधेसकेन्द्रित दलहरूले संविधान संशोधन गर्न माग गर्दा एमालेकै अडानका कारण त्यो सफल भएको थिएन । ओलीले संविधान संशोधन औचित्यहीन रहेको बताउने गरेका थिए । देउवाले बिहीबारको सम्बोधनमा ’कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने’ भनी ओलीको कटाक्ष गरेका छन् । वाम गठबन्धनमाथि पनि देउवाले रोष प्रकट गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा विकास र समृद्धिलाई चुनावी नारा बनाएर वाम गठबन्धनले बहुमत ल्याएको छ । ’समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्ने’ टिप्पणी देउवाको छ । ’लोकतन्त्रलाई आस्था नभई साधनको रुपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनु पर्दछ’, प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ ।