अधिकारी प्रदेश ४ का सर्वसम्मत सभामुख

पोखरा, फागुन २ ।
माओबादी केन्द्रका नेत्रनाथ अधिकारी प्रदेश नम्बर ४ का निर्विरोध सभामुख बन्ने भएका छन् । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले उम्मेदवारी नदिने भएपछि माओबादीका अधिकारी सर्बसम्मत चयन हुन लागेका हुन् । उनलाई एमालेको समर्थन छ ।
काँग्रेसले भने ६ गतेअघि प्रदेश सरकारको सहभागीता बारे छलफल नै नगर्ने जनाएको छ । संसदीय दलको नेता, उपनेता लगायतका सबै पदहरु ६ गते मात्रै टुंग्याउने काँग्रेस श्रोतले जनाएको छ । चुनाव नै भएपनि अधिकारीले सभामुखमा जित्ने निश्चित छ । प्रदेश ४ मा ६० सांसद छन् । जसमध्ये गठबन्धनसँग ३९ सांसद छन् भने बाँकी २० सांसद अरु दलको छ । एक स्वतन्त्र भने हालसम्म पनि फरार छन् । २२ माघमा बसेको पहिलो प्रदेश सभा बैठकले ३ फागुनमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । सभामुख निर्वाचनका लागि बुधबारदेखि प्रक्रिया सुरु हुने संसद् सचिवालयका उपसचिव गोपाल सिग्देलले बताए ।