सन्दीप लामिछानेको करिअरकै उत्कृष्ट बलिङ

काठमाण्डौं, माघ २९ ।
आइसिसी विश्व क्रिकेट लिग डिभजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लिस्ट ’ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन् । उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन् । १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे । यसअघि उनको लिस्ट ए करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो । यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए । यो प्रदर्शन लिस्ट ’ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो । सोमबार उनले केन्या विरुद्ध नेपाललाई महत्वपूर्ण विकेट दिलाउने क्रममा सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे । सन्दीपको विकेटसँगै नेपालले केन्याको ६५ रनको प्रारम्भिक साझेदारी तोड्न सफल भएको थियो । ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका थिए ।
यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए । उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे । दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे । तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके । आफ्नो स्पेलको अन्तिम बलमा सन्दीपले पाँचौं विकेट हात पारे । उनले ओडियाम्बोलाई ७ रनमा विकेटकिपर ज्ञानेन्द्र मल्लबाट स्टम्पिङ गराए ।