निषेधको राजनीतिले मुलुकको हित गर्दैन : डा. महत

 

काठमाडौं, पुस १९ ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले निषेधको राजनीतिले मुलुकको हित नगर्ने बताएका छन् ।

शनिबार ललितपुरमा युवा समाज नेपालले आयोजना गरेको ‘युवासँग संवाद’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारमा संलग्न दलले निषेधको राजनीति देखाएको भन्दै त्यो मुलुकको हितमा नभएको बताए ।

उनले प्रेसलाई संकुचन गर्नेगरी ल्याइएको विधेयक नेपाली कांग्रेसका लागि मान्य नहुने पनि बताए ।

परिवर्तनको क्षेत्रमा युवाहरुको भूमिका महत्पूर्ण रहेको भन्दै राज्यका महत्वपूर्ण निकायमा युवाहरुको प्रतिनिधित्व आवश्यक रहेकामा उनले जोड दिए ।

युवाको क्षमताको सही प्रयोग हुन नसकेको भन्दै मुलुकको विकासका लागि युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा शक्तिलाई मुलुकको विकासमा लगाउनका लागि सरकारले दीर्घकालीन योजना बनाइरहेको बताए ।

बेरोजगारीको अन्त्य गरी युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाइने पनि उनले बताए ।

युवाहरुले भने राजनीतिक दलले सत्ताका लागि युवाहरुलाई प्रयोग गर्ने गरेको भन्दै युवा शिक्षा र रोजगारीका लागि सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
(ईमेजखबरबाट साभार)