विप्लवका कार्यकर्ताले गरे गाउँपालिका अध्यक्षकै अपहरण

दैलेख, पुस ६ ।
जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिए ।

समूहमा आएका उनीहरुले प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताएको शाहीको भनाइ छ । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ। सोधपुछ छ भन्दै अध्यक्ष शाहीलाई लिएर गएको भाइ हस्तले बताए ।

उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताए । यता जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ । डिएसपी हरिबहादुर ओलीले नागरिकसँग भने, घटना सुन्नमा आएको छ, अपहरण नै हो वा होइन भन्ने पुष्टि भएको छैन । हामीले अनुसन्धान सुरु गरेका छौं ।