संसदको हिउँदे अधिवेशनको तयारी पूरा, बैठकको अध्यक्षता उपसभामुखले गर्ने

 

काठमाडौं, पुष ३ ।

संघीय संसद सचिवालयले शुक्रबार (भोलि) अपराह्नदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् ।

संसदको बजेट अधिवेशन गएको असोज २ गते अन्त्य भएको थियो ।

उपसभामुखद्वारा अध्यक्षता

हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ ।

यस्तै, प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक र राष्ट्रियसभामा थाती रहेका चार विधेयक पनि आगामी संसद अधिवेशनबाट पारित गर्ने प्रक्रियामा छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेगरी तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

नियमावलीमा सभामुखले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेपनि अहिले सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको हो ।

बैठकको अध्यक्षता र पहिलो बैठकको कार्यसूचीबारे संसद बैठक बस्नुअघि शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ ।
(ईमेजखबरबाट साभार)