सभामुख चयन प्रक्रिया अघि बढाउन काँग्रेसले दबाब दिने
काठमाडौं, पुष ३ ।
नेपाली काँग्रेसले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने भएको छ ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकले सभामुख नहुँदा संसदीय समितिहरुको काम समेत प्रभावकारी नहुने र अनुगमन गर्न समेत अप्ठेरो हुने भन्दै तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको हो ।
बैठकले सरकार जनताका दैनिक समस्याहरुप्रति उदासिन बन्दै गएको, महंगी र भष्ट्रचार बढेको भन्दै सरकारको विरोध गरेको छ ।
सरकारले फोन ट्यापिङ गर्ने गरी संविधान विपरीतका कानुनहरु बनाउने काम अघि बढाएको भन्दै तत्काल त्यस्तो कानुन निमार्ण रोक्न माग गरेको छ ।
सरकार एकपछि अर्को नियन्त्रणमुखी कानुन निमार्णको क्रममा रहेको र अबको संसदमा त्यसको कडा प्रतिरोध गर्ने तयारी आफुहरुले गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकमा सरकारका गलत क्रियाकलापका विरुद्ध एकताबद्ध भएर लाग्न सांसदहरलाई सभापति शेरबहादुर देउवाले निर्देशन समेत दिएको सचेतक खाँडले जानकारी दिए ।
(ईमेजखबरबाट साभार)