भौगोलिक अखण्डताको रक्षा उत्तेजनाबाट हुँदैन : दाहाल

 

काठमाडौं, मंसिर १३ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् ।

नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट हुनु पर्ने आवश्यकता औंल्याए ।

उनले उत्तेजना र आवेगमा नआई राष्ट्रिय एकताकासाथ अगाडि बढ्न सबैमा आह्वान गरे । सीमा विवाद वार्ता र संवादबाट समाधान गरी आफ्नो भूमिको रक्षा गर्नु पर्ने उनको भनाइ छ ।

जनमत सृजना गर्न सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे ।

अध्यक्ष दाहालले नेपाल र चीनबीच आर्थिक, सामाजिक, साँस्कृतिक पुरानो सम्बन्ध रहेको भन्दै दुई देशबीचको सम्बन्ध दीर्घकालीन बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताए ।

त्रिदेशीय रणनीति आवश्यक: डा. महत

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले आर्थिक समृद्धिको लागि त्रिदेशीय रणनीति आवश्यक रहेकोमा जोड दिए ।

नेपाल, चीन र भारतको संयुक्त साझेदारीबाट नेपालले लाभ लिनसक्ने उनको भनाइ थियो । आर्थिक, सामाजिक विकास बिना मुलुकले गति लिन नसक्ने भन्दै उनले सञ्चारकर्मीहरुलाई भुमिका खेल्न आग्रह गरे ।

कार्यक्रममा नेपाल–चीन सम्बन्ध र नेपालको भूमिकाका बिषयमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, बरिष्ठ पत्रकार तीर्थ कोइराला, युवराज घिमिरेलगायतले कार्यपत्र पेश गरेका थिए ।
(ईमेजखबरबाट साभार)