भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मतदान हुँदै

 

काठमाडौं, मंसिर १३ ।

भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार मतदान हुँदैछ ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा मतदान हुँदैछ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी तत्कालिन पर्यटनमन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको कास्की २ मा उपनिर्वाचन हुन लागेको हो ।

भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङको ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका साथै वडा नम्बर ७ को वडाअध्यक्षको लागि पनि मतदान हुनेछ । धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा सुरक्षाकर्मी सहितका कर्मचारी पुगिसकेको सुनसरीका मूख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाएका छन् ।

मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार नै मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि चुनाव हुँदैछ ।

प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलको ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । आठ सयसम्म मतदातालाई एउटा मतदान केन्द्र तोकिएको छ ।

उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन हुने कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् । प्रदेशसभाको तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् ।

उपनिर्वाचनको प्रचार प्रसार अवधि मंसिर ११ गते राति १२ बजेदेखि सकिएको छ ।
(ईमेजखबरबाट साभार)