आश्वासन बाँड्दैनौं काम गरेर देखाउँछौंः धर्मराज गुरुङ

 

पोखरा, मंसिर १ ।

नेपाली माटो सुहाउँदो समाजको असली पार्टी नै समाजवादी भएको उम्मेदवार धर्मराज गुरुङले बताएका छन् । मंसिर १४ मा हुने कास्की २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार गुरुङले नेपाली समाजको असली पार्टी नै समाजवादी भएकाले जनताको रोजाईमा पर्ने बताएका हुन् ।

घरदैलो अभियानका क्रममा पोखरा–१५ रामबजार पुगेका गुरुङले सत्ताको बागडोर सम्हालिरहेको नेकपा र प्रतिपक्षको कमजोर भूमिकामा देखिएको कांग्रेसले जनताको आकांक्षा र समाजको आवश्यकतालाई पूरा गर्न नसक्ने बताए । ‘सरकार भ्रष्टाचार र अराजकतामा रमाइरहेको छ । जनताका आवश्यकता दुई तिहाईको छाँयामा परेको छ,’ इन्जिनियर गुरुङले भने, ‘लामो समय शासन गरेको कांग्रेसले पनि जनताको आवाजलाई उठाउन नसकिरहेका बेला समाजवादी पार्टी ती सबै आवश्यकतालाई जोड्ने गरी चुनावी मैदानमा होमिएको छ ।’

नेकपाप्रति अहिले चरम बितृष्णा रहेको बताउँदै उम्मेदवार गुरुङले तराई, मधेस, हिमाल पहाड जोड्ने अभियानमा रहेको पार्टी समाजवादीप्रति जनताको आशा र भरोसा जोडिएको बताए । नेकपाका कारण सिंगो राजनीतिप्रति नै बितृष्णा जागेको उम्मेदवार गुरुङको भनाइ थियो ।

‘सरकार एकपछि अर्को काण्डमा फस्यो । हत्या र बलात्कारका दोषीलाई पक्राउ गर्नै सकेन । अहिले आँसुको राजनीति गर्न खोजिरहेको छ’ गुरुङले भने, ‘भ्रष्टाचारले पिल्सिएका जनताले यसपटक नेकपालाई पाठ सिकाउने छन् । समाजवादीको हात चिह्नलाई साथ दिने छन् ।’

घरदैलो कार्यक्रममा रामबजार पुग्दा गुरुङले स्थानीयले शुभकामना दिए । अहिलेको राजनीतिको गतिलो विकल्पका रुपमा प्रस्तुत हुन स्थानीयले समाजवादीलाई आग्रह गरे । देशकै तेस्रो शक्ति सवाजवादीलाई कास्की २ मा चुनेर अहिलेको सरकारलाई सच्याउने अवसर दिने गुरुङले मतदातासामु आग्रह गरे ।

संसदमा जनताको आवाज उठाउन निरन्तर लाग्ने बताउँदै गुरुङले आफ्नो अनुभव र सीप व्यवस्थित पोखरा निर्माणमा लगाउने जनतासामु प्रतिवद्धता गरे । ‘लामो समय युनाइटेड नेसन (युएन) मा काम गरें । १ सय ८५ देशका व्यक्तिसँग काम गर्दा विकास र सुशासनलाई नजिकबाट नियालेको छु,’ गुरुङले भने, ‘अब त्यो अनुभव र सीप पोखरामै लगाउने प्रतिवद्धतासहित जनताको घरदैलोमा आएको छु ।’

भ्रष्टाचार र लोभलालचमा लाग्नेबिरुद्ध खबरदारी गर्न र जनताको असली आवाज संसद पु¥याउन आफूले उम्मेदवारी दिएको बताउँदा स्थानीयले फूलमाला र हौसलासहित शुभकामना दिए । रामबजारको घरदैलोमा पुग्दा धर्मराजलाई साथ दिने स्थानीयले बचन दिए । जनताको विश्वासमाथि अहिल्यै घात नगर्ने बताउँदै मतदातासामु धर्मराजको आग्रह छ, ‘हिजो जसलाई भोट हाल्नुभयो, उसले जनताको पक्षमा के गरे हेर्नुहोस् । हिजो गरेको गल्ती आज सच्याउने बेला हो । त्यसैले हात चिह्नमा भोट हाल्नुस् ।’

ठूला आश्वासन होइन, काम गरेर देखाउन चुनावी मैदानमा होमिएको बताउँदै इन्जिनियर धर्मराले मतदातालाई विश्वस्त पारेका छन् । समाजवादी पार्टीले घरदैलो अभियानलाई तीब्र पारिरहेको नेता किरण थापाले जानकारी दिए । समाजवादी पार्टीको पक्षमा आएको जनलहरबाट उत्साही भएको अर्का नेता गणेशमान गुरुङले जानकारी दिए ।

समाजवादी पार्टीले आइतबार पोखरा–१५ कालिका चोकबाट घरदैलो अभियान गरेको हो । मनोनयन दर्ता भएलगत्तै जनताको घरदैलोमा समाजवादीका उम्मेदवार धर्मराज पुग्दा सकारात्मक साथ मिलेको नेता देवी सुवेदीले बताए । आइतबार र सोमबार समाजवादीले वडा नम्बर १५ मै घरदैलो गर्ने छ । मंसिर ८ गते पोखरामा समाजवादीका शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई लगायतको उपस्थितिमा सभा आयोजना हुने उनले जानकारी दिए ।