कास्की उपनिर्वाचनः के होला नतिजा ? (पूरा पढ्नुस)

प्रकाश ढकाल
पोखरा, मंसिर १ ।
संसदीय चुनाव हुन थालेपछि कास्कीमा तेश्रो पटक क्षेत्र निर्धारण भयो । २०४८ देखि २०६४ सम्म कास्कीमा ३ वटा मात्रै निर्वाचन क्षेत्र थिए । ०६४ देखि ०७० सम्म ४ वटा क्षेत्र भएपनि २०७४ पछि पुनः ३ वटा क्षेत्र कायम गरियो । निर्वाचन क्षेत्र निर्धारण गर्दा भुगोलको ब्यापक फेरवदलका कारण कुनै राजनीतिक दलको आँकलन पनि एकपक्षीय हुन पाएन ।

नयाँ संरचनामा २ नम्बर निर्वाचन क्षेत्र साविक ३ नम्बरका अधिकांश वडाहरु मिलाएर बनाईयो । ३ नम्बर क्षेत्रका ७ र २ नम्बरका ४ वटा वडा अहिलेको २ नम्बर क्षेत्रमा पर्छन् । ४, ७, ८, ९, १७, २१ र ३३ नम्बर वडा पहिले ३ नम्बरका हुन् भने बाँकी ११, १५, १६ र २० पूरानो २ नम्बर क्षेत्रका हुन् । २०६४ अघि चाहीँ २ नम्बर क्षेत्र ८ वटा गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनेको छ ।

पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा यो क्षेत्रमा पर्थे ।

त्यसैले पूरानो चुनावी गतिविधिले अहिलेको निर्वाचनमा खासै पूर्वानुमान गर्न सक्ने अवस्था रहँदैन । यद्यपी नयाँ संरचना पछि भएको चुनावमा नेकपाको गठनबन्धले भारी मतान्तरले काँग्रेसलाई पराजीत गरेको छ ।

स्व. रवीन्द्र अधिकारीले काँग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ६२ मतान्तरले पराजीत गरेका हुन् । बहुदल आएपछि ६ वटा संसदीय निर्वाचन भयो । कास्कीमा हाल २ नम्बर क्षेत्रभित्र पर्ने बाहुल्य क्षेत्रमा ५ पटक नेकपाले चुनाव जितेको छ भने  १ पटक काँग्रेसले जितेको छ ।

विगतदेखि नै कास्की २ नेकपाको पकड भएकै क्षेत्र मानिन्छ । महादेव गुरुङ काँग्रेसबाट बिजयी भएका हुन् भने तुलबहादुर गुरुङ र रवीन्द्र अधिकारी नेकपाबाट विजयी भएका थिए । यो क्षेत्रमा गुरुङ २ पटक बिजयी भए भने रवीन्द्रले ह्याट्रिक गरेका हुन् । अधिकारीसँग पहिलो संविधानसभामा माओवादीका झलकपाणी तिवारी पराजीत भए भने दोश्रो संविधानसभा चुनावमा काँग्रेसका शोभियतबहादुर अधिकारी पराजीत भए । तेश्रो पटक चुनाव जित्दा काँग्रेसकै देवराज चालिसे उनको निकटतम प्रतिश्पर्धी थिए । गुरुङसँग दुवैपटक काँग्रेस नेता शुक्रराज शर्मा पराजीत भएका थिए ।

आउँदो मंसिर १४ मा हुने उपनिर्वाचनमा २१ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा छन् । ११ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवारबीच प्रतिश्पर्धा हुनेछ । उम्मेदवार जति भएपनि नेकपा र काँग्रेसबीचको नै बढी प्रतिश्पर्धा हुनेछ । अहिले मतदाताहरु बीच चुनावी नतिजाबारे चर्चा सुरु भैसकेको छ ।

अधिकांशको मत नेकपाले चुनाव जित्नेमा छ भने केहीले काँग्रेस बिजयी हुने आँकलन पनि गरिरहेका छन् । प्रचार र उम्मेदवारको ब्यक्तित्व हेरेर पनि सर्वसाधारणले जीतहारको अनुमान लगाईरहेका छन् । लगातार ३ पटक चुनाव जितेर कास्कीमा इतिहास रचेका एमाले नेता रवीन्द्र अधिकारीको निधन पछि उनकै धर्मपत्नि विद्या भट्टराई उपनिर्वाचनको प्रतिश्पर्धी छिन् ।

नेकपाको पकड र समवेदनाका कारण पनि यसपालि विद्याले चुनाव जित्ने धेरैको अनुमान छ । तर विद्या कास्कीका लागि नयाँ अनुहार हुन् । रवीन्द्रको निधन हुनुअघि उनको उपस्थिति कास्कीमा खासै देखिँदैन । धेरैले रवीन्द्रकै निधनपछि विद्यालाई राम्रोसँग चिन्न पाए ।

रवीन्द्र मतदातासँग राम्रैसँग भिजेका नेता हुन् । ब्यक्तित्वका कारण विपक्षी मत समेत उनले आफ्नो पक्षमा पारेका थिए । रवीन्द्र नहुँदा त्यो मत नेकपाले नपाउन पनि सक्छ । यता विद्यासँग प्रतिश्पर्धामा रहेका नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई पनि राम्रै समर्थन छ ।

काँग्रेसमा यसअघि हुने भनिएको अन्तरघात यसपाली नदोहोरिने धेरैको अनुमान छ । तर उनी पनि नयाँ पुस्तामाझ भने खासै परिचित छैनन् । चुनावको केही महिनाअघि काँग्रेस छोडेकी रजनी केसी साझा पार्टीकी उम्मेदवार बनेकी छिन् । काँग्रेसलाई रजनी पनि बाधक बन्न सक्छिन् । यो चुनावमा काँग्रेसले सुधारोन्मुख नतिजा निकाल्ने दावी गर्छ भने नेकपा पनि आफ्नो क्षेत्र गुम्न नदिनेमा ढुक्क छ ।

एउटा मात्रै निर्वाचनले चुनावी विश्लेषण गर्न कठिन छ । २०७४ मा भएको स्थानीय तहको चुनावमा यो क्षेत्रमा पर्ने ११ वटा वडालाई हेर्दा नेपाली काँग्रेस नेकपाभन्दा करिब ८ हजार मतले पछाडी छ । वडाध्यक्षहरुले पाएको मतमा साविक एमाले काँग्रेसभन्दा ४ हजार ३ सय ४७ मत अगाडी छ । यसमा साविक माओवादीको मत जोड्दा मतान्तर अझै बढ्छ ।

मेयरको उम्मेदवारले पाएको मतलाई हिसाव गर्दा चाहीँ ५ हजार मतले एमाले अगाडी छ । हरेकजसो चुनावमा उम्मेदवारको संयोजनमा पनि चुनावी नतिजा तलमाथी हुन्छ । जीत हार नै नभएपनि मतान्तरमा यसको ठूलो महत्व छ । संयोगबश यसपालीको उपनिर्वाचनमा सबै उम्मेदवार यो क्षेत्रका लागि नयाँ अनुहार हुन् । पार्टीगत हिसावले हेर्दा कास्कीको चुनाव विगतदेखि नै रोचक छ ।

२०४८ मा ३ निर्वाचन क्षेत्र रहेको कास्कीको २ क्षेत्र एमालेले जितेको थियो भने एउटा क्षेत्रमा मात्रै काँग्रेस बिजयी भयो । मध्यावधी चुनाव २०५१ मा देशैभर बहुमत पाएको एमालेले कास्कीमा २ वटा क्षेत्र जित्यो । काँग्रेसको किल्ला तोडेपनि आफ्नो किल्ला जोगाउन नसक्दा एमालेले काँग्रेसलाई पत्तासाफ पार्न सकेन ।

२०५६ मा चाहीँ जिल्लाका तीनै निर्वाचन क्षेत्र काँग्रेसको पोल्टामा प¥यो । पहिलो संविधानसमा चुनावमा जिल्लाका ४ क्षेत्रमध्ये ३ वटा माओबादीले जित्दा एमालेले एउटा क्षेत्र सुरक्षित गर्न सक्यो । २०७० मा एमाले र काँग्रेसले २÷२ क्षेत्र आफ्नो पक्षमा पार्न सके । २०७४ को चुनावमा प्रतिनिधिसभा तर्फ सबै क्षेत्र नेकपाले जित्यो भने प्रदेशसभामा एउटा मात्रै काँग्रेसले जित्यो ।

काँग्रेसले चुनाव जितेको प्रदेशसभा अहिले उपनिर्वाचन हुने क्षेत्रमै पर्छ । बागि उम्मेदवारको सामना गरेका काँग्रेसका विन्दुकुमार थापाले प्रदेशसभा ख मा ८ सय २ मतान्तरले नेकपाका उम्मेदवार राजकाजी गुरुङलाई पराजीत गरे । स्थानीय चुनावमा १ हजार ३ सय ६५ मतले पछि रहेको काँग्रेसको नतिजालाई उल्ट्याउँदै उनले जीत निकालेका थिए । यता प्रदेशसभा क मा भने नेकपाका उम्मेदवार कृष्ण थापाले काँग्रेसका गुरु बराललाई ७ हजार मतान्तरले पराजीत गरे । उनले प्राप्त गरेको मत स्थानीय चुनावभन्दा करिब १ हजारले बढी हो ।

यसरी हिसाव गर्दा पनि यो क्षेत्रमा नेकपाभन्दा काँग्रेस निकै कमजोर देखिन्छ । अघिल्लो संसदीय चुनावमा नेकपाले स्थानीय तहमा पाएको पूरै मत प्राप्त गरेको थियो । स्थानीय चुनावमा नेकपा समग्रमा ८ हजार ५ सय १० मत अघि थियो भने रवीन्द्रले ८ हजार ५ सय ६२ मतले काँग्रेसलाई पराजीत गरेका थिए ।

समानुपातिक तर्फ भने नेकपाको भन्दा काँग्रेस १० हजार ३ सय ८४ मतले पछाडी छ । प्रतिनिधिसभा तर्फ एमालेले २२ हजार ९ सय ६९ मत पाएको थियो भने माओवादीले ३ हजार ४ सय ७९ मत पायो । काँग्रेसले चाहीँ १६ हजार ६४ मत मात्रै पाएको छ ।

समग्रमा यो क्षेत्रमा काँग्रेस बिजयी हुन निकै ठूलो मेहिनत गर्नुपर्ने छ भने नेकपाका लागि धेरै सहज छ । विगतमा उम्मेदवारका आकांक्षीले नै अन्तर्घात गर्ने गरेको आरोप छ । काँग्रेसले उम्मेदवार छनौटमा सावधानी अपनाएका कारण यसपाली त्यो सम्भावना कम हुने बताईन्छ । यद्यपी अन्तर्घात नहुने भने नेकपा र काँग्रेसबीचको प्रतिश्पर्धा रोचक हुन सक्छ ।

पञ्चायतमा पनि कम्युनिष्ट बलियो

२०४८ अघि राष्ट्रिय पञ्चायतको चुनाव हुन्थ्यो । कास्कीबाट २ जना जनप्रतिनिधि निर्वाचित हुन्थे । एकजना मतदाताले २ जना उम्मेदवारलाई भोट हाल्न पाउने ब्यवस्था थियो । २०४३ सालमा पञ्चायतको विरोध गरेर उम्मेदवार बनेका सोमनाथ अधिकारी प्यासीले पहिलो नम्बरमा चुनाव जिते ।

उनी तत्कालीन मालेबाट जनपक्षिय भएर उम्मेदवारी घोषणा गरेका थिए । जिल्लाभरिका मतदाताले मतदान गर्न पाउँथे । दोश्रो नम्बरमा पञ्चायत पक्षधर उत्तमबहादुर पुन विजयी भएका हुन् । २०३८ सालमा चाहीँ दुवै जनप्र्रतिनिधि पञ्चायतका थिए । राधेश्याम कमारो र गणेश शेरचन उतिबेला बियजी भएका हुन् । यो समाचार आजको आदर्श समाज दैनिकमा छापिएको छ ।