समृद्ध देशका लागि उद्यमशिल युवा–उम्मेदवार भट्टराई 

 

पोखरा, कार्तिक २५ ।

यही मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने बताएकी छिन् ।

भट्टराईले समृद्ध नेपाल निर्माणको लागि एक आधारशिला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवाहरूलाई उद्यमशिल बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफु विशेष जोड दिने बताइन् । उनले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्यहरू सो कुरामा केन्द्रीत गर्नुपर्ने बताइन् । भट्टराईले सो कुरा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ४ का जनताहरूसँग प्रत्यक्ष भेट पश्चात आयोजित कोणसभालाई सोमबार सम्बोधन गर्दै बताइकी हुन् ।

विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचा गरेका प्रतिवद्धताहरू र जनताका आकांक्षाहरू आफ्नो निर्वाचनको केन्द्रविन्दू रहेको भन्दै सोही अनुसार आफु अघि बढ्ने उनले बताइन् । जन सहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूभिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने भन्दै सबै जनताहरू राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिहरूलाई निरन्तर खवरदारी गर्न आग्रह गरिन् ।

यस अघि भट्टराईले सोमबार बिहान सो वडाको नालाको मुख स्थित नेपाली राजनीतिका लौह पुरुष स्व. गणेशमान सिंहको शालिकमा माल्र्यापर्ण गरी उक्त वडाको जनताहरूसँग भेटघाट शुरू गरेकी थिइन् ।
सयौं नेता, कार्यकर्ताहरूका साथमा जनसाक्षात्कार गर्नु भएकी उम्मेदवार भट्टराईलाई सो वडाका वासिन्दाहरूले यस पालिको निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।