गणेशमान सिंहको शालिकमा नेकपा उम्मेदवार विद्याले लगाईन् माला

पोखरा, कार्तिक २५ ।
चुनावी प्रचारमा रहेकी नेकपा उम्मेदवार विद्या भट्टराईले लौह पुरुष तथा काँग्रेस नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेर घरदैलो थालेकी छिन् । सोमबार पोखरा ४ गणेशटोलमा रहेको गणेशमान सिंहको शालिकमा भट्टराईले माल्यार्पण गरेकी हुन् ।

सिंहको जन्मजयन्तीको अवसरमा भट्टराईले माला लगाईदिएकी हुन् । ४ नम्बरको घरदैलोमा रहेकी विद्याले समृद्धीको सपना पूरा गर्न आफु उम्मेदवार बनेको बताएकी छिन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपचुनाव हुँदैछ ।

भट्टराई उनै अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीले अघि सारेका विकास निर्माणका योजना पूरा गर्ने प्रतिबद्धता सहित भट्टराई चुनावी मैदानमा होमिएकी हुन् । रत्नराज्य लक्ष्मी क्याम्पसकी जागिरे उनले मनोनयनभन्दा केही दिनअघि मात्रै उपप्राध्यापकबाट राजीनामा दिएकी थिईन् ।

तस्विरः ध्रुव पोखरेल