बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै
काठमाडौं, कार्तिक २३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन् ।
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणकाक्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमन्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन् ।
बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।
उनीसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् ।
नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् । (रासस)