जनमत र विश्वास गुम्न दिन्नः भट्टराई

पोखरा, कार्तिक २२ ।
नेकपाको तर्फबाट कास्की २ की उम्मेदवार विद्या भट्ट्राईले नेकपालाई दिएको जनमत गुम्न नदिने दावी गरेकी छिन् । मनोनयनपछि चुनावीसभालाई सम्बोधन गर्दै उनले ५ बर्षका लागि जनताले नेकपालाई विश्वास गरेकाले त्यही विश्वासका साथ आफूले काम गर्ने बताईन् ।

‘२ बर्ष अगाडी हामीले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार तपाईंहरुका प्रिय नेता, तपाईंहरुको मन मस्तिष्कमा बस्न सक्नुहुने र देश विकासमा लागि पर्ने नेतालाई बिजयी गराएर पठाएका थियौं । २ बर्षपछि वहाँलाई गुमाउन पुग्यौं । अहिले उपनिर्वाचनमा जुटेका छौं,’ उनले भनिन््, ‘५ बर्षका लागि नेपाल कम्युनिष्ट पार्टीलाई बिजयी गराएर पठाउनुभएको हो । तर त्यो विश्वास अपुरो रह्यो । त्यो जनमत आज पनि कायम छ । मैले विजयी हासिल गरिसकेपछि त्यो जनमतलाई असर नपर्ने गरी प्रतिबद्ध जनप्रतिनिधिको रुपमा भूमिका खेल्नेछु ।’

भट्टराई तत्कालीन कास्की २ का जनप्रतिनि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । आफ्नो उम्मेदवारीलाई समवेदनासँग मात्रै जोडेर नहेर्न उनले मतदातासँग आग्रह गरिन् । ‘ममाथि किन संवेदनाको मत लिन आएको भन्ने प्रश्न उठेको छ । हामी शोकलाई शक्तिमा बदलौं भनेर लागिरहेका छौं,’ उनले भनिन्, ‘एउटै परिवारमा दुबै जना राजनीतिमा आउँदा दुबै जनाको गति रोकिन सक्छ भन्ने ठानेर एउटाको गति बढाउन म केहीपछि भएँ । म प्रचारमा देखिइन होला तर राजनीतिक चेत छोडेको छैन ।’

उनले आफू खुला किताव भएको भन्दै केही कमजोरी भए औंला उठाउन आग्रह गरिन् । ‘म खुला किताव हुँ । जतिबेला पनि पढ्न सक्नुहुन्छ । कहीँनिर कमजोरी भयो भने औंला ठड्याउन सक्नुपर्छ,’ उनले भनिन् ।

सभामा सांसद तथा नेकपाका गण्डकी प्रदेश सहईन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे लगायतले पनि सम्बोधन गरेका थिए । भट्टराईले स्व. रवीन्द्र अधिकारीको जन्मस्थल पोखरा ३३ भरतपोखरीबाट चुनावी प्रचार सुरु गरेकी छिन् ।