कास्की २ उपनिर्वाचनः २५ जनाले दिए उम्मेदवारी

प्रकाश ढकाल
पोखरा, कार्तिक २२ ।
मंसिर १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । ११ जना स्वतन्त्र र १४ राजनीतिक दल गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्र्रपत्नी विद्या भट््टराईले उम्मेदवारी दिईन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट पाका नेता खेमराज पौडेलले मनोनयन दर्ता गराए । पौडेलका लागि शोभियतबहादुर अधिकारीले प्रस्ताव र देवराज चालिसे समर्थन गरे । दुवैजना उम्मेदवारको आकांक्षी थिए । त्यस्तै भट्टराईका लागि नेकपा कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले प्रस्ताव र सांसद प्रभा कोइरालाले समर्थन गरे ।

यस्तै, समाजबादी पार्टी नेपालबाट धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसी, राप्रपाका रोमबहादुर भण्डारी, देशभक्त समाजवादीका विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ती पार्टीका पूर्णबहादुर राना, नेकपा मालेका टेकनाथ भण्डारी, नेशनल मंगोल अर्गनाईजेसनका रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका गजेन्द्र सुब्बा, नेपाली काँग्रेस वीपीका चन्द्रबहादुर रानाभाट, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी गंंगा मल्ल, राष्ट्रिय नागरिक मञ्चका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहले पार्टीका तर्फबाट उम्मेदवारी दिए ।

कमलजंंग कुवँर, यज्ञप्र्रसाद पंगेनी, जमुना शर्मा, लक्ष्मी कुमारी भुजेल, सुनिल भुषाल, सुनिलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बास्तोला र पुरुषोत्तम खनालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । विवेकशील नेपाली दलकी उम्मेदवार जमुना शर्माले पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । मनोनयन दर्ता गराउनेहरु केही कास्की बाहिरका पनि छन् । स्वतन्त्र उम्मेदवारी दिएका पंगेनी स्याङजाबाट आएका हुन् भने भुषाल कपिलबस्तु, रेग्मी सुर्खेत र खनाल स्याङजाका मतदाता हुन् ।

राजनीतिक दलले पनि केही उम्मेदवार बाहिरबाट झिकाएका छन् । जनमुक्ती पार्टीका राना तनहूँ रिसिङका स्थायी बासिन्दा हुन्् भने संघीय लोकतान्त्रीकका सुब्बा तेह्रथुमका हुन् । यस्तैै, नागरिक पार्टीका घले चितवनबाट कास्की आएर उम्मेदवारी दिए । कास्कीकै भएपनि केही उम्मेदवार सम्बन्धित निर्वाचन क्षेत्रभन्दा बाहिरका छन् । संविधानमै देशभरिबाट मतदाता नामावलीमा नाम भएको ब्यक्तिले जुनसुकै निर्वाचन क्षेत्रमा पनि उम्मेदवार दिन मिल्ने सहुलियत दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार पौडेल कास्की ३ का स्थायी बासिन्दा हुन् भने काँग्रेस वीपीका रानाभाट कास्की १, देशभक्ता पार्टीका विक र राष्ट्रिय मुक्ती आन्दोलनका शाह कास्की ३ का हुन् । स्वतन्त्र उम्मेदवारी दिने पनि अधिकांश फरक निर्वाचन क्षेत्रका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कुवँर, शर्मा, भुजेल र गौतम कास्की ३ तथा बास्तोलाको कास्की १ मा मतदाता नामावली छ ।

३ जनाको नाम ‘रिजेक्ट’

विहिबार मनोनयन दर्ता गराएकामध्ये ३ जनाको नाम निर्वाचन सफ्टवेयरमा समावेश हुन सकेन । निर्वाचन आयोगले उम्मेदवारीमा समस्या नआउन छुट्टै सफ्टवेयर बनाएको थियो । नाम र ठेगाना दर्ता गराएपछि गलत उम्मेदवारको नाम स्वतः सफ्टवेयरले फर्काइदिन्छ ।

राष्ट्रिय मुक्ती आन्दोलन नेपालका उम्मेदवार जयवन्त बिक्रम शाह, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बाको नाम सफ्टवेयरमा सपोर्ट नभएपछि उम्मेदवारी खारेज भएको छ । उनीहरुको नाम यसअघिको निर्वाचनमा समानुपातिक सूचीमा रहेकोले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आदर्श समाजमा समाचार छापिएको छ ।