देउवाका साथी खेमराजः कास्की २ मा काँग्रेसका उम्मेदवार

पोखरा, कार्तिक २० ।
समयमा उम्मेदवार टुंग्याउन नसक्नु काँग्रेसको पूरानै रोग हो । यसबर्षको उपनिर्वाचनमा पनि यो शिलशिला दोहोरिएको छ । निकै लामो बहस र छलफल पछि अन्ततः पाका नेता खेमराज पौडेललाई काँग्रेसले आफनो उम्मेदवार बनाउने निधो गरेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले पौडेललाई टिकट दिएको हो । उनी सभापति देउवा निकट मानिन्छन् । यसअघि कास्की २ मा रामचन्द्र पौडेललाई उम्मेदवार छान्ने अधिकार दिईएको भनेपनि देउवाले नै आफु निकटका उम्मेदवार पठाएका छन् ।

यो क्षेत्रमा यसअघि रवीन्द्र अधिकारीसँग पराजीत भएका देवराज चालिसे सहित केन्द्रीय सदस्य धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा निकै थियो । अन्तिम समयमा देउवाले खेमराज रोजेपछि अरु आकांक्षी पाखा लागेका हुन् ।

काँग्रेसको क्षेत्रीय समितिले १६ जना आकांक्षीको नाम जिल्ला हुँदै केन्द्रमा पठाएको थियो । अहिले उम्मेदवार बनेका पौडेल कास्की ३ का मतदाता हुन् । पौडेल कांग्रेस राजनीतिका पूराना र माहिर नेता मानिन्छन् । राजनीतिमा उनलाई सबैले गुरुको उपनामले सम्बोधन गर्छन् ।

को हुन् खेमराज ?

लामो समय राजनीति गरेपनि अवसर नपाएका नेता हुन्, खेमराज । यद्यपी उनले पार्टीप्रति निरन्तर योगदान भने गरिराखे । उनको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो भन्ने गरिन्छ । पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

७४ वर्षमा चल्दै गरेका पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । कास्की पुम्दीभुम्दी निवासी उनले लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी पढाएका थिए ।

उनले शिक्षण पेशाबाट अलग्एिपछि भने कास्की कांग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यसपछि कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।