कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा

 

पोखरा, कार्तिक २० ।

यसअघि एक भएर चुनावमा सहभागी भएको विवेकशील साझा पार्टी फुटेपछि बनेको विवेकशील नेपाली दलले कास्की २ मा जमुना शर्मालाई उम्मेदवार घोषणा गरेको छ । पार्टीको पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट कास्की २ को प्रतिनिधिसभा र बागलुङ २ (ख) को प्रदेशसभामा उम्मेदवार टुंग्याएको हो । बागलुङ २ (ख) मा सन्तोष भण्डारीलाई उम्मेदवार तोकिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी विवेकशीलले राजनीतिक दुर्गन्ध हटाउनका लागि आफुले उम्मेदवारी दिन लागेको बताएको छ । केन्द्रीय अध्यक्ष मिलन पाण्डेले आगामी पुस्तालाई सुसंस्कृत राजनीति हस्तान्तरण गर्ने गरी विवेकशील गठन भएको र सोही एजेण्डामा सक्रिए रहेको बताए । ‘हामी चुनाव जित्न आएका हौं । असल राजनीतिले जित्यो भने मात्रै देशले जित्छ,’ उनले भने, ‘कसैलाई हराउने हाम्रो एजेण्डा छैन ।’

केन्द्रीय सदस्य रञ्जु दर्शनाले सहभागीता मुलक लोकतन्त्रका लागि आफुँहरु निरन्तर लागिरहने प्रतिबद्धता जनाईन् । पार्टी विभाजन समेत त्यसकै लागि भएको उनको टिप्पणी छ । ‘मर्नुभन्दा पारपाचुके उत्तम उपाए हो,’ पार्टी किन फुट्यो भन्ने प्रश्नमा जवाफ दिँदै उनले भनिन्, ‘हामीले साझा पार्टीसँग पारपाचुके ग¥यौं ।’ उम्मेदवार जमुना शर्मा जनताको विश्वाससँगै चुनाव जित्ने दावी गर्छिन् ।

चुनावका लागि विवेकशिलले नीति सचिव संजीव भट्टाईको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधबारदेखि नै चुनावी गतिविधि सुरु गर्ने विवेकशीलले जनाएको छ । पार्टी एउटै भएर चुनाव लड्दा यसअघिको चुनावमा विवेकशील साझाले ८ सय मत पाएको थियो ।