राप्रपाले कास्की २ मा भण्डारीलाई उठायो

पोखरा, कार्तिक १७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १४ गते तय गरिएको प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गरेको हो ।

राप्रपाले कास्की २ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र बागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

भक्तपुर १ (क) भने चाँडै उम्मेदवार टुंगो लगाउने निर्णय गरेको राप्रपाले जनाएको छ । भण्डारी तत्कालीन छिनेडाँडा गाउँपञ्चायतको प्रधानपञ्च (२०२८ देखि २०३३), २०३३ देखि ०३९ सम्म जिल्ला पञ्चायतको क्षेत्रीय सभापति भए भने २०३९ देखि ०४३ सम्म वडा नम्बर १५ का वडाध्यक्ष बनेका थिए । २०२४ देखि २८ सम्म शुक्रराज प्राविको प्रधानध्यापक भएर काम गरेका थिए ।