सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ : देउवा

 

काठमाडौं, कार्तिक ९ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम’मा उनले नेपाली जनताको लडाइँ, संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए ।

‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ । लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’–उनले भने ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुन्ठित गर्न खोजेको आरोप लगाए ।

सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बीपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गरे ।

‘कांग्रेस रुपान्तरणका लागि जागरण अभियानले महत्वपूर्ण भूमिका खेलेको छ’–उनले भने ।

प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्नेगरी कांग्रेस संगठन विस्तारमा लाग्नुपर्ने बताए ।

सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य भएमात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने बताए । निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी–कमजोरीलाई सच्याएर अगाडि बढेमात्र कांग्रेस बलियो हुने बताए ।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर–६ प्रदेश ‘क’का सभापति एवं काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले अरुबेला कांग्रेस र निर्वाचनको बेला अरु दललाई भोट दिने प्रवृत्तिका कारण कांग्रेसले हारेको उल्लेख गरे ।

क्षेत्र नम्बर–६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डंगोल, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्नो जिम्मेवारीअनुसार काम गरेमात्र कांग्रेस बलियो हुने बताएका थिए । (रासस)