असंलग्न आन्दोलन (नाम) को १८ औं सम्मेलन शुरु, प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्ने

 

काठमाडौं, कार्तिक ८ ।

असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन शुक्रबारबाट अजरबैजानमा सुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा सम्मेलनको औपचारिक उद्घाटन भएको छ ।

सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनका प्रतिनिधिहरु सहभागि छन् । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।

शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल विहीबार अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत त्यहाँ पुगेको थियो ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश छन् ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको पूर्ण सत्रलाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्राध्यक्षरसरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।(ईमेजखबरबाट साभार)