कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच टेलिफोनमा कुराकानी, संवैधानिक परिषद् बैठक सार्न आग्रह

 

काठमाडौं, कार्तिक ५ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै आज बेलुकाका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

दुई नेताबीच आजको बैठक स्थगित गरी आ–आफ्नातर्फको तयारी गरेर फेरि अर्को दिन बस्ने सहमति पनि भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा कांग्रेस पदाधिकारी बैठक चलिराखेकै बेला प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर देउवाले मंगलबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक पछि सार्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई देउवाले संवैधानिक परिषद बैठकका एजेण्डामा पनि सकेसम्म सत्ता र प्रतिपक्षको सहमति बनाउँदा राम्रो सन्देश जाने बताएका थिए ।

परिषदको अर्को बैठक प्रधानमन्त्री विदेश भ्रमण सकाएर स्वदेश फर्किएपछि मात्रै बस्ने गरी बोलाउन सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
(ईमेजखबरबाट साभार)