सभामुख महराले दिए पदबाट राजीनामा

 

काठमाडौं, असोज १४ ।

एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

यसअघि नेकपाले पनि महरालाई सभामुख र संसद् सदस्य दुवैबाट राजीनामा गर्न सुझाएको थियो । संसद् सदस्यका रूपमा पनि महराले उपसभामुखलाई नै राजीनामा बुझाउनुपर्नेछ ।

मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । (ईमेजखबरबाट साभार)