पत्रकार अर्जुन गिरीको मुद्धा टुंगियो, अदालतले दियो सफाई

पोखरा, भदौ ९ ।
पोखराका पत्रकार अर्जुन गिरीले सफाई पाएका छन् । ताण्डव न्युजका सम्पादक गिरीलाई जग्गा कारोबारबारे कमजोरी केलाउँदा साईबर अपराध मुद्धामा उजुरी परेको थियो । ठगिका आरोपीले उनलाई साईबर क्राइमको मुद्दा दर्ता गराएका हुन् ।

त्यही मुद्दामा २०७६ वैशाख २ गते पक्राउ परेका गिरी पत्रकार महासंघको आह्वानमा देशभर भएको आन्दोलनपछि साधारण तारेखमा छुटेका थिए । काठमाडौं जिल्ला अदालतले आइतबार मुद्दाको छिनोफानो लगाईदिएको हो ।

न्यायधिश विनोद कुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो । गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण बोहरा र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए । यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए ।

पत्रकारितामा स्नातकोत्तर पास गरेका पत्रकार गिरीले विगत एक दशक देखि अपराध अनुसन्धान र विकृति विसंगतिका विरुद्धमा कलम चलाउँदै आएका छन् ।