पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्चमा रिट
पोखरा, भदौ ८ ।
पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन् ।
जिल्ला अदालत कास्कीलाई विपक्षी बनाएर उनले रिट हालेका हुन् । हमाल रिपोर्टिङको क्रममा खुदीमा विप्लव समूह स्याङजाका सेक्रेटरी कृष्ण वाग्ले (रुपेश) लाई भेटेका थिए । सोही समयमा हमाल र रुपेश पक्राउ परेका थिए ।
‘पेशागत कामका शिलशिलामा गएको बेला पक्राउ गरिएको छ । अन्तरबार्ताका लागि रेकर्ड गर्दागर्दै समातेर बेपत्ता पारिएको छ । पक्राउ पुर्जी नदिईकन पक्राउ गर्न मिल्दैन,’ जैसीले भने, ‘झुटा मुद्धामा फसाएर गैरकानुनी गिरफ्तार गरिएको हो । ससम्मान रिहाईको माग छ ।’
जैसीलाई रिट दायर गर्न नेपाल पत्रकार महासंघले नै जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार रिट दर्ता गराएको जैसीले सुनाए ।
पक्राउ परेकै दिन हमाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । हमालको पक्राउप्रति नेपाल पत्रकार महासंघ सहित विभिन्न संघ संगठनहरुले विरोध जनाउँदै तत्काल रिहाईको माग सहित दवाव दिईरहेका छन् ।
हमाल जनसंचार डटकमका सम्पादक हुन् । हमालले आँफु रिपोर्टिङमा रहेकै बेला प्रहरीले पक्राउ गरेको बताएका छन् ।