शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य हुँदैन : यादव

 

गोरखा, साउन ३२ ।

समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा दुईतिहाइ र्पुयाइदिन सत्तामा गएको बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन शनिबार गोरखा आएका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन् ।

उनले जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताए । संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुकोभन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उनले बताए ।

‘अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यथार्थ भन्नुपरेको छ’–अध्यक्ष यादवले भने–‘हुन्न नै भनेर हामीले भन्नसक्ने अवस्था पनि छैन ।’

समाजवादी पार्टीले पहिचान, निर्वाचन प्रणाली, शासकीय स्वरुप र असमान र विभेदकारी व्यवस्था कहाँ–कहाँ छ, त्यसलाई परिमार्जन गर्न चाहेको उनले बताए ।

‘सविधान संशोधन गर्दिनँ भनेर उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन’–अध्यक्ष यादवले भने–‘तर, किन हो ढिलो भइरहेको छ ।’

अध्यक्ष यादवले वर्तमान कम्युनिस्ट नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारसमेत गरे ।

‘कम्युनिस्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो । तर, जनचाहनाअनुसार काम हुनसकेको छैन्’–उनले भने ।

उप्रधानमन्त्री यादवले सरकारले गरेको राम्रो कामको पार्टीले प्रशंसा गर्ने र नराम्रो कामको आलोचना गर्ने अधिकार आफूसँग भएको पनि बताए । उनले पर्याप्त बजेट अभावका कारण स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार गर्न नसकेको उल्लेख गरे ।

‘डब्लुएचओले पनि कम्तीमा कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नैपर्छ भनेको छ’–उपप्रधानमन्त्री यादवले भने–‘हामीकहाँ कुल बजेटको ४.४८ प्रतिशत बजेट विनियोजन भएको छ । उक्त बजेट स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त होइन ।’ (रासस)