नगरपालिकाको नियमः विवाह, व्रतवन्ध घरमै गर्नुपर्ने, अन्त गरे कर तिर्नुपर्ने
चितवन, साउन २२ ।
चितवनको माडी नगरपालिकाले विवाह, व्रतबन्ध, पूजाआजा लगायतका धार्मिक कार्य घरमै गर्नुपर्ने नियम लगाउने भएको छ । नगरसभाले गरेका निर्णय मंगलबार सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले अबका दिनमा आफ्नै घरमा बाहेक पार्टी प्यालेस लगायतका ठाउँमा विवाह, व्रतबन्ध लगायतका कार्य गर्न नपाउने बताए ।
निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुदाँ खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताए ।
कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको प्रमुख ढकालले बताए ।
उनका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उनले जानकारी दिए । अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ । नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप १०१ रुपैयाँ कायम गरेको हो ।