पहिरोले गुल्मीमा गाउँ बगाउँदा ६ जनाको मृत्यु, केही बेपत्ता
गुल्मी, साउन ७ ।
सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ। राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।
यस्तै, उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन्। पानी परिरहेकाले उपचारमा लैजानका लागि समस्या परेको छ । यता, सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शब फेला परेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शबको पहिचान हुन सकेको छैन ।
चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले बताए । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए । यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राति घर बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् । उनिहरूको खोजी कार्य जारी रहेको बताईएको छ ।
अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यस तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र आधिकारीक बिबरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोलीसंगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए । अहिले स्थानिय घटनास्थलमा उद्दारका लागि खटिएको बुझीएको छ । राटोपाती