मुख्यमन्त्री सहभागी कार्यक्रममा काँग्रेसको नाराबाजी र कालोझण्डा

पोखरा, असार २१ ।
गएको असार १० गते सभाबाट पास भएको बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रमुख अतिथि थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । मादी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्रति लामो समयदेखि काँग्रेसले विरोध जनाईरहेको छ ।

बजेट तथा कार्यक्रममाथी आपत्ती जनाउँदै मादी काँग्रेसले शनिबार सार्वजनिकीकरणमै नाराबाजी गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमै काँग्रेसले कालो झण्डा देखाएको थियो भने कार्यक्रम सुरु भएपछि नाराबाजी गरेर अवरोध गरेको थियो । गाउँपालिकाले गरेका सबै निर्णयमा काँग्रेसतर्फका जनप्रतिनिधिहरुले ‘नोट अफ डिसेन्ट’ लेखेको वडा सदस्य सरोज केसीले जानकारी दिए ।

‘नीति कार्यक्रममा हामीले संशोधन हालेका थियौं । त्यसबारे कुनै छलफल नै भएन । एकलौटी रुपमा बजेट ल्याईयो,’ उनले भने, ‘यो हामीलाई चित्त बुझेन त्यसैले बिरोध गरेका हौं ।’

बजेट संशोधन गरेर समानुपातिक वितरण नभएसम्म आन्दोलन जारी राख्ने काँग्रेस मादीका सभापति देवीजङ्ग गुरुङले जानकारी दिए । ‘बजेटमा राजनीतिक विभेद छ । सच्याएर ल्याउनुस् भनेका थियौं,’ उनी भन्छन्, ‘पेलेर जान खोजियो । काँग्रेसले त्यसको विरोध ग¥यो । अझै विरोध जारी छ ।’

उनले १२ वटै वडामा भण्डाफोर कार्यक्रम लिएर जाने बताएका छन् । उनीहरुको विरोधपछि प्रहरीसँग धकेलाधकेल भएको थियो । आफ्ना जायज माग राख्दा पनि प्रशासनले लाठी चार्ज गरेको वडाध्यक्ष याम गुरुङले आरोप लगाए । प्रहरीले चाहीँ झडप नभएको बताएको छ ।

काँग्रेसको विरोधपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाहीँ सामान्य रुपमा लिएको बताए । लोकतन्त्रमा विरोध गर्न पाउने र त्यसलाई आँफुले मामुली रुपमा लिएको उनको प्रतिक्रिया छ ।