रेडलाईट र ईन्जोय जोनपछि मुख्यमन्त्रीको प्रश्ताव–प्रत्येक रिसोर्टमा क्यासिनो चलाउनुपर्छ

पोखरा, असार १६ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टमा जुवाघर (क्यासिनो) खोल्नुपर्ने बताएका छन् । केही समयअघि रेडलाईट एरिया र इन्जोय जोनले चर्चामा रहेका मुख्यमन्त्री गुरुङले पर्यटनसँगै जोडेर कानुनले बर्जित गरेको क्यासिनो खोल्नुपर्ने बिषय उठाएका हुन् । आन्तरिक पर्यटन वर्ष २०१९ मूलआयोजक समितिको पहिलो बैठक तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अन्य देशहरु क्यासिनोबाट धनी भएको भन्दै गण्डकी सरकारले पनि त्यसलाई पछ्याउनुपर्ने बताए ।

 

‘मकाउकाे जुवाखाल भ्रमण गर्ने अवसर पाएको थिएँ । त्यहाँ रहेको जुवा घरमा वर्षेनी पाँच लाख मान्छे जुवा खेल्न आउने,’ उनले भने, ‘त्यसरी आउनेलाई बसले स्टेशनबाट निशुल्क ल्याउँदो रहेछ । जाने बेला फेरि जहाँबाट ल्याएको हो त्यहीँ छोड्ने रहेछ । जुवा खेल्नेहरु कालो सुटमा सजिएर आउछन् । नेपालमा पनि कौडा, क्यासिनोलाई ब्यवस्थित गर्नुपर्छ ।’ नेपालमा यसको गलत प्रयोग भएको भन्दै उनले ब्यवस्थित गर्न सके सरकारले करको दायरामा ल्याउने र पर्यटन प्रबद्र्धनमा पनि सघाउ पुग्ने बताए ।

 

‘हाम्रोमा कौडा हानेर घरबार बिगारेको । सम्पत्ति सकेको, श्रीमती र छोराछोरीलाई दाउ हानेको सुन्छौँ,’ उनले भने, ‘त्यसकारणले हामीले जुवा खेल्नेलाई खत्तम भन्छौँ । तर, व्यवस्थित क्यासिनो खोल्न जरुरी छ । त्यहीँ आउँछ त्यहीँ खेल्छ, त्यहीँ खान्छ । क्यासिनोले सरकारलाई कर पनि तिर्छ । पर्याप्त पर्यटक आउँछन् । जति धेरै बस्यो, उति धेरै पैसा पायो, जति धेरै सुत्यो, उति धेरै पैसा पायो । जति धेरै पियो उति धेरै पैसा पायो । यो चाहिँ नेपालीका लागि होइन, विदेशलाई हो ।’

 

जुवा क्यासिनो नराम्रो नभएको उनको तर्क छ । यस्तै उनले प्रत्येक स्थानीय तहले पर्यटन प्रबद्र्धनका लागि आ–आफ्नै समिति गठन गर्न र आवश्यक प्रचार गर्न सुझाए । जिल्ला र स्थानीय तहका सदरमुकाममा मेला महोत्सव गरेर पर्यटक बोलाउन उनको आग्रह छ ।