बीबीसीमा प्रधानमन्त्री ओलीको ‘फितलो’ प्रस्तुती !

काठमाण्डौं, जेठ २९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार बीबीसी वल्र्ड सर्भिसमा प्रधानमन्त्री ओलीले अन्तरवार्ता दिइरहेको भन्दै गर्वका साथ केही तस्वीरहरु ट्विट गरे । रिमालको प्रचार–प्रसार हेर्दा प्रधानमन्त्री ओलीले नेपाल र बेलायतको दुई देशीय सम्बन्धका आयामहरुबारे अन्तरवार्ता दिन लागेको अनुमान धेरैले गरेका थिए । तर, अन्तरवार्तामा प्रधानमन्त्री ओली नेपालको सरकार प्रमुख भन्दा पनि पर्यटन मन्त्रालयको कर्मचारी जसरी प्रस्तुत हुन बाध्य भए ।

बीबीसी वल्र्ड सर्भिसमा प्रधानमन्त्रीको अन्तरवार्ता साढे ९ मिनेट मात्रै प्रसारण भयो । त्यसमा बेलायत भ्रमणबारे कुनै प्रश्न गरिएन । नेपाल टेलिभिजनमा लामो अन्तरवार्ता दिने बानी परेका प्रधानमन्त्री ओलीलाई अन्तरवार्ताकारले धेरै बोल्नै दिएनन् । प्रश्नहरु सोध्नुभन्दा बढी अन्तरवार्ताकारले नै जवाफ दिएजस्तो भान हुन्थ्यो ।

अन्तरवार्तामा सगरमाथामा ट्राफिक जाम भएको, सरकारी अधिकारीहरु पैसा खाएर घरैमा बसेको र आरोहीहरु मरेको आरोप लगाइयो । नेपालको प्रशासनको नियतमाथि प्रश्न उठाइयो । जवाफ दिने क्रममा प्रधानमन्त्री ओली ‘डिफेन्सिभ’ रुपमा प्रस्तुत भए ।

सगरमाथापछि अन्तरवार्ताकारले बीआरआईको प्रशंग कोट्याउँदै नेपालमा चीन हाबी भएको र श्रीलंका जस्तै नेपाल पनि ऋणमा डुब्न लागेको आशंका प्रकट गरे । त्यसपछि नेपालमा विमानस्थल बनाउने नाममा वातावरणीय प्रभावलाई ख्याल नगरी वन फँडानी भइरहेको आरोप बीबीसी पत्रकारले लगाए । अन्तरवार्तामा प्रधानमन्त्री ओली राजनीतिक विषयमा प्रवेश गर्न खोज्दाखोज्दै अन्तरवार्ताकारले प्रश्नलाई बीआरआईतिर मोडे ।

नेपालमा कुनै पनि मिडियालाई अन्तरवार्ता दिनुप¥यो भने प्रधानमन्त्री ओली वीचैमा प्रश्न सोधेको मन पराउँदैनन् । उनी छिचरा र रुखा प्रश्नहरुको जवाफ दिन्न भन्ने गर्छन् । तर, बीबीसीमा भने उनी निकै कडा प्रश्नहरुको सामना गर्न बाध्य भए ।

बीबीसी वल्र्ड सर्भिसले प्रधानमन्त्री ओलीलार्ई यार्खयाखी पार्नु अनौठो होइन । तर, बेलायत भ्रमणमा रहेका नेपालका सरकार प्रमुखले गैरराजनीतिक प्रश्नमा अन्तरवार्ता दिनुभन्दा पर्यटनमन्त्री प्रदीप ज्ञवालीलाई स्टुडियोमा पठाएको भए शोभनीय हुन्थ्यो कि ? अन्तरवार्ता हेरिसकेपछि तपाईलाई यस्तो महसुस हुन सक्छ ।