सगरमाथाको उचाइ नापेर फर्किएका खीमलाललाई पोखरामा भब्य स्वागत
पोखरा, जेठ १८ ।
सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमलाई पोखरामा भब्य स्वागत गरिएको छ । उनले ज्यानको बाजी लगाएरै सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् । गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर मापनको काम सकेको बताए ।
‘८ हजार मिटर भनेको डेन्जर जोन हो । त्यो ठाउँमा पनि दुई रात विताएर उचाई नाप्न सफल भएँ,’ उनले भने । गौतमलाई पोखरा एयरपोर्टमा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ, काँग्रेस नेतृ सरस्वती गुरुङ, तरुण नेताहरु राम गुरुङ, भरत गुरुङ लगायतले स्वागत गरे ।
काँग्रेस नेता श्रेष्ठले सगरमाथामा पुग्नु नै ठूलो उपलब्धी हुने भन्दै आधिकारिक मापन गर्नु सामान्य काम नभएको बताए । नेतृ गुरुङले पनि सगरमाथाको बास्तविक उचाई पत्ता लगाएकोमा बधाई दिईन् । मापन ऐतिहासिक काम भएको भन्दै उनले गौतमको कामलाई राज्यले पनि सम्मान गर्नुपर्ने बताईन. ।
जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो । उनले फर्किने क्रममा सगरमाथामा ट्राफिक जाम भएर करिब दुई घण्टा पर्खनु परेको बताए । सगरमाथाको उचाई मापनका लागि नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा चार जनाको टोली गएको थियो । जसमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थिए ।
गौतमलाई विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले पनि सम्मान गरेको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाई मापन गर्नु आफैंमा गौरवमय भएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।
२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तराष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने काम गरेको हो । गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जन्मिएका गौतमलाई शुक्रबार नै गाउँपालिकाले पनि सम्मान गरेको छ । शुक्रबार नै एचआइभि संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर पोखरा फर्किएका छन् । उनलाई पनि पोखरा विमानस्थलमा विभिन्न संघ सस्थाले स्वागत गरेका छन् ।