ढोका थुनेर मेयरले कुटे कर्मचारी

इटहरी, जेठ ८ ।
इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीलाइ कुटेपछि कर्मचारीहरु आन्दोलीत बेनका छन् । वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेका हुन् । मेयर आफैँले पनि मैले भ्रष्ट कर्मचारीलाई ठेगान लगाउन कुटेको स्वीकार गरेका छन् ।

यस्तो छ घटना

बुधबार दिउँसो साढे दुई बजे इटहरीका मेयर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गए । त्यसपछि मनोज दाहालको हो? त्यसलाई यहाँ झिकाउनू भन्दै झर्किए । मेयरले आफ्नै गाडीमा उनलाई लिन पठाए । केही मिनेटमै दाहाल अधिकृतको कार्यकक्षमा आए ।

उनी बस्न नपाउँदै उनले ’तँ भ्रष्टलाई म जेल हाल्छु्’ भन्दै हप्काएको दाहाल बताउँछन् । उनीसंगै रहेका बसन चौधरीलाई सिसी क्यामेरा अफ गर्न लगाए । त्यसपछि उनलाई अश्लील गाली गर्दै कठालो समाते। जुन कुरा मेयर आफैँ स्वीकार्छन् ।

कुटाई खाएपछि उनी दुखेसो गर्न अन्य कर्मचारीकहाँ पुगे । कर्मचारी कुटेको प्रमाण खोज्न सिटिटिभी फुटेज खोज्न थाले । खोज्दा सिसिटिभी अफ गरेर कुटपीट र गालीगलौज गरेको कर्मचारी सुरेश कार्कीले बताए । कार्कीका अनुसार नियतवश मेयर चौधरीले कर्मचारी दाहाललाइ सिसिटिभी अफ गराएर कुटेका थिए ।

केही समयको दौरानमा अर्का कर्मचारी रामबहादुर खड्कालाई पनि घुस लिएर नक्सा पास गरेको भन्दै कार्यालय बाहिर जान निर्देशन दिए । ’मेरो अगाडी एक मिनेट नबस् तँ घुस्याहा’ भन्दै थर्काएको खड्का बताउँछन् । आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकाले। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाइ निकालेका थिए ।

घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाइ निकालेका हुन् । आफूले घुस नलिएको तर मेयर चौधरीले उजुरीको आधारमा आफूलाई गालीगलौजसहित दुर्व्यवहार गरेको कर्मचारी खड्काले दाबी गरेका छन् । घटनापछि कर्मचारीहरु आन्दोलित बनेका छन् ।