चोर्नकै लागि पाकिस्तानदेखि काठमाण्डौं आए एक दम्पती–कारमा हिडेर चोर्दै गर्दा पक्राउ
काठमाण्डौं, जेठ १ ।
चोर्नकै लागि पाकिस्तानदेखि काठमाडौं आएका एक पाकिस्तानी दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोर्दै हिँड्ने सो पाकिस्तानी दम्पत्तिलाई मंगलबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३२ वर्षीय मोहसिन खान र उनकी पत्नी ३१ वर्षीया पूजा मोहसिन खान छन् । उनीहरुले वैशाख २९ गते साँझ साढे ६ बजे बा १९ च ७४ नम्बरको कार चढेर भक्तपुरको सूर्य्विनायक नगरपालिका ५ मा रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको पसलबाट ३० हजार रुपैयाँ चोरेका थिए ।
श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एन्ड इलोक्ट्रोनिक्स सेन्टरमा गएर ’आफूसँग युएस डलर मात्रै छ। नेपाली सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेरौँ भन्ने बाहना बनाएर ३० हजार रुपैयाँ चोरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
त्यसपछि उनीहरुले भक्तपुर लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको किचेन स्टोरबाट ६ लाख ७० हजार रुपैयाँ चोरी गरेका थिए । बुटवलका सारदा बस्नेतले सञलन गरेको राइजिङ स्पोर्ट ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेर उनीहरु कार लिएर सिनामंगलमा रहेको रुद्र भ्यू होटलको १०४ नम्बर कोठामा बसेका थिए । प्रहरीले उनीहरुलाई सोही होटलबाट पक्राउ गरेको हो । उनीहरुलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत ठिमी पठाइएको छ ।
प्रहरीले उनीहरुको साथबाट दुई थान पासपोर्ट, १ सय दरका २१ थान युएस डलर, ५० दरका १७ थान युएस डलर, पाकिस्तानी मुद्रा १ सय दरको ३ थान, ५ सय दरेको १ थान, १० दरको ३ थान, नेलाी १ लाख ३७ हजार ५ सय बरामद गरेको छ । nepallive.com