एउटै जग्गा १५ जनालाई देखाएर ठगी, एक महिला प्रहरी नियन्त्रणमा
वालिङ, बैशाख १४ ।
एउटै जग्गा १५ जनालाई देखाएर ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका बस्ने सुनीता थापालाई ३३ लाख ठगीको आरोपमा पक्रेको हो ।
थापाले पुतलीबजार नगरपालिका–३, आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा देखाएर विभिन्न १५ व्यक्तिलाई ठगेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
थापासँगै उनका श्रीमान् हुमबहादुर थापालाई पनि कारवाही गर्न पीडितहरुले माग गरेका छन् । तर, उनी भने पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जिल्ला अदालतबाट थप सात दिन म्याद थपी थापालाई अनुसन्धान गरिरहेको बताए । रासस