लागु औषध सहित पोखराबाट दुईजना पक्राउ
पोखरा, बैशाख १० ।
कास्की प्रहरीले लागुऔषध सहित दुई व्यक्तिलाई पोखराको छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको छ । लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले बागलुङ ताराखोला गाउँपालिका–५का ४४बर्षीय हरिभक्त पौडेल र रुपन्देही लुम्विनी नगरपालिका–१२ का २८ बर्षीय राजेश लोधलाई पोखराबाट पक्राउ गरेको हो ।
प्रहरीले हरिभक्त पौडेललाई आइतवार साँझ अबैध लागु औषध गाँजा सहित पोखरा–२ बागलुङ बस पार्कबाट पक्राउ गरेको हो भने लोधलाई शनिवार पोखरा– १० अमरसिंह चाकेबाट पक्राउ गरेको हो ।
पौडेलले बाग्लुङ जिल्लाबाट गाँजा खरिदगरी पोखराका विभिन्न भागमा बिक्री वितरण गर्ने गरेको र लोधले भारतबाट लागु औषध खरिद गरी पोखरामा ल्याएर बिक्री वितरण गर्ने गरेको जानकरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले दिए ।
विशेष सूचनाका आधारमा पौडेलमाथि शंकालागि खनतलासी गर्दा उनले वोकेको झोलामा तीन केजी आठ सय ग्राम गाँजाको तयारी धुलो फेला परेको कास्की प्रहरीले जानकरी दिएको छ ।
त्यस्तै राजेश लोधलाई पनि शंका लागि खानतलासी गर्दा उनले वोकेको निलो रंगको झोलावाट बुप्रिनर्फिन इन्जेक्सन दुई सय थान, डाईजापाम इन्जेक्सन दुई सय थान, फेनरगन इन्जेक्सन दुई सय थान र मोवाइल बरामद गरीएको जानकरी प्रहरीले दिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धन गरिरहेको छ ।