लुक्ला दुर्घटनामा जहाज र एउटा हेलिकोप्टर जलेर ध्वस्त, मृतकको संख्या ३ पुग्यो

सोलुखुम्बु, बैशाख १ ।
सगरमाथा आरोहणका लागि प्रवेशद्वार मानिने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

सोलुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाकाअनुसार समिटि एयरका सहचालक एस. ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । अर्का एक सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो ।

ग्रान्डी अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । उनी पर्यटक प्रहरी अन्तर्गत सहायक निरीक्षकको पदमा लुक्ला विमानस्थलमा कार्यरत थिए । समिट एयरमा रहेका ४ यात्रु सकुशल छन् । लुक्लाबाट रामेछापको मन्थली विमानस्थलका लागि उड्न लाग्दा सो जहाज दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका अन्य तीन जनाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये मनाङ एयरका क्याप्टेन चेतवहादुर गुरुङ, मनाङ एयरकै कर्मचारी लाक्पा शेर्पा र समिट एयरका क्याप्टेन रविन्द्रवहादुर रोकाय खतरामुक्त रहेको ग्राण्डी अस्पतालका हेलिकप्टर इन्चार्ज माधव शर्माले जानकारी दिए ।

समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा मनाङ एयरको हेलिकोप्टर र त्यसपछि श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी शालिकराम शर्माले उद्धार कार्य जारी रहेको जानकारी दिए । ’हामी उद्धार गरिरहेका छौं क्षतिको विस्तृत विवरण आउन केही समय लाग्नेछ’, उनले भने ।