सेतीमा फेरि बाढी–के हो बास्तविकता ? किन आत्तियो प्रहरी ?

पोखरा, चैत २७ ।
बुधबार एकाएक एउटा खवर फैलियो । सेतीमा पुनः बाढी आएको । प्रहरीदेखि जनप्रतिनिधीलाई समेत यसले तनाव बनायो । स्थानीय पनि तनावमा रहे । तर होहल्ला गरिएजस्तो बाढी चाहीँ आएन । दिउँसोबाट सेतीमा बाढी आएको कुरा गरेपनि त्यो हल्ला मात्रै भएको कास्कीको माछापुच्छे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

उनले आफुलाई पनि बाढी गएको भन्दै धेरैले सोधेको बताए । ‘सेतीमा बाढी आएको छ भन्ने हल्ला आयो,’ उनले भने–हल्ला आएपछि करुवाका बासीन्दालाई फोन गरेर सोधें, सेती नदीमा पनि हेरें, बाढी आएको छैन ।’

सेतीको पानीमा कुनै परिवर्तन नआएको उनले सुनाए । ‘सेतीको पानीमा कुनै परिर्वतन पनि छैन,’ उनले भने ‘उपल्लो तातो पानी सम्म मानिसहरु गएर हेरेरै आए, बाढीको कुनै सम्भावना छैन ।’ उनले नदीमा बाढी आएका जानकारी दिने गरी सुचना प्रणाली समेत भएको बताए । तर तातोपानी भन्दा माथीको अवस्था कस्तो भने बारेमा हेलिकप्टरबाट हेर्नुपर्ने बताए ।

पोखराभन्दा ४० किलोमिटर माथी सेती नदी थुनिएको खवर बुधबार पोखरामा फैलिएको थियो । तर त्यहाँसम्म हेर्ने कुनै यन्त्र नभएकोले सत्यता पत्ता नलागेको गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् ।

माछापुच्छ्रे १ का वडाध्यक्ष वीरेन्द्र गुरुङले प्रहरीले नै स्थानीयलाई सचेत हुन आग्रह गरेको बताए । ‘घाचोक र सार्दीखोला प्रहरी चौकीमा सतर्क रहन निर्देशन आएको भन्ने बुझियो । समुदाय र जनप्रतिनिधीलाई पनि सर्तक रहनुस् भनेका छन्, उनले भने–तर घटना के हो हामीलाई जानकारी छैन ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बाढी आउन सक्ने खवर प्रहरीलाई आएपछि सोही अनुसार जानकारी गराईएको बताए । ‘प्रहरीलाई खवर आयो । हामीले प्रहरी टोली पनि खटाएका छौं, उनले भने–विपद् आउनु अघि नै सचेत हुन् भनेर जानकारी गराएका हौं । अहिलेसम्म त्यस्तो आत्तिनुपर्ने अवस्था चाहीँ छैन ।’ धमिलो पानी बगेको भनेर स्थानीयले नै प्रहरीलाई फोन गरेपछि प्रहरीले सचेत रहन सूचना प्रवाह गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।

सेतीमा २०६९ साल बैशाख २३ गते धेरै धनजनको क्षती हुने गरी बाढी गएको थियो । अन्नपुर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दा सेतीमा बाढी आएको अध्ययनले देखाएको थियो ।

बेमौसमी सेती बाढीका कारण पर्यटकीय खारापानी क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको थियो । शनिबारको दिन परेकोले तत्कालिन समयमा आएको बाढीले ६० भन्दा बढी मानिसलाई बेपत्ता बनाएको थियो । २८ जनाको मात्र शव प्राप्त भएको थियो भने दर्जनौँ परिवारको घरबास उठेको थियो ।