पोखराका सुनारले गरे पाण्डेको हत्या, घरबाटै पक्राउ

बुटवल, चैत १९ ।
पोखराका एक बृद्धले लमजुङका यूवाको हत्या गरेको खुलेको छ । पैसाको लोभमा पोखरा ३० डुंडाको मुखका ६८ बर्षिय बलबहादुर सुनारले लमजुङ मध्येनेपाल नगरपालिका २ सोतिपसलका ३० बर्षिय हरिबहादुर पाण्डेको हत्या गरेको खुलेको हो ।

गएको चैत १ गते बुटवलको तिनाउ खोला किनारमा पाण्डेको हत्या भएको थियो । हत्या गरेको आरोपमा सुनारलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पाण्डेसँग ३ लाख ८८ हजार रुपैयाँ सुनारले लुटेको र त्यो रकमले सुनका गहना किनिसकेको बताईएको छ ।

पाण्डे बुटवलमा ब्यापार गर्ने उद्देश्यले रुपन्देही पुगेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाका अनुसार मृतक पाण्डे र सुनार विगतमा अपराध गरेको अभियोगमा जेलमा सँगै बसेका व्यक्ति हुन् । जेलबाट छुटेपछि पैसाको लोभमा सुनारले पाण्डेलाई ढुंगाले हानेर मारेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

रुपन्देही र कास्की प्रहरीको सहयोगमा सुनारलाई लेखनाथको शिसुवाबाट पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ परेका सुनारलाई बुटवल पठाईएको छ ।