भिनाजुको प्रेममा परेर आफ्नै श्रीमानको हत्या
बुटवल, चैत १९ ।
गत बुधबार साँझ बुटवल मैनाबगरमा भएको फिरोज हत्याकाण्डमा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । हत्या गरिएका ४५ वर्षीय फिरोज अन्सारी (खान) की श्रीमती साहिन खातुनसँगै प्रेमसम्बन्धमा रहेका भारत बिहार बेतिया ४२ वर्षीय साधिर हुसेनले हत्या गरेको प्रहरीले जनाएको छ ।
खातुन र हुसेन नाताले साली भेना हुन् । हुसेनले बुधबार साँझ कामबाट कोठामा फर्किदै गरेका फिरोजलाई कोठा आउँदै गर्दा गेटनिर गोली प्रहार गरेर फरार भएका थिए ।
मोटरसाइकलमा आएका हुसेनले गोली हानी नवलपरासीको त्रिवेणीबाट भागेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले बताए । मृत्तक फिरोजकी श्रीमती ३२ वर्षीया साहिन खातुनलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहको छ । प्रहरीले फरार रहेका हुसेनको खोजी भइरहेको छ ।
कसरी भयो हत्या ?
मैनावरको वर्कसपमा काम गर्ने फिरोज अन्सारी (खान) श्रीमती साहिनसहित विगत २० वर्षदेखि बुटवलमा बस्दै आइरहेका थिए । यही क्रममा साहिनको भेना साधिरसँग पटक–पटक भेट हुन्छ । दुवैबीच प्रेम पनि बस्छ ।
गत बुधबार साधिर नवलपारसीको त्रिवेणी नाका हुँदै बुटवलामा सालीको कोठामा आएका थिए । त्यहीँ दुई जना बीच हत्याको योजना बन्छ । योजना बनेपछि दिउँसो तीन बजे साधिर त्यहाँबाट छुट्छन् । फेरि साँझ ७ बजे हतियारसहित आउँछन् ।
दोस्रो पटक पेस्तोल लिएर आएका साधिरले वर्पसपबाट काम गरेर आएका फिरोजलाई गोली हानी फरार हुन्छन् । ४२ साधिरकी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको प्रहरीले बताएको छ ।
भारतमा पनि विभिन्न अपराधमा संलग्न हुँदै आएका साधिर र साली साहिन केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बुटवलमा वर्कपसमा बसेर गाडीको पेन्टीङ्ग गर्ने फिरोजले साहिनसँग मागी विवाह गरेका थिए ।
बुधबार साँझ हत्या अघि श्रीमती खातुनले १० वर्षका छोरा रेहान र ९ बर्षका आरिषलाई कोठामा थुनेर राखेकी थिइन् । श्रीमान् आउने बेला भएपछि साधिर र साहिन दुवै जनाले बाटोमा नै फिरोजलाई कुरेर बसे । जब फिरोज कामबाट घर फर्किए, हुसेनले अंकमाल गरेजस्तो गरी फिरोजमाथि गोली बर्साए ।
गोली प्रहारबाट फिरोज त्यहीँ ढले । हुसेन लगत्तै त्यहाँबाट फरार भए भने श्रीमतीले केही समयपछि चिच्याए जस्तो गरिन् । त्यसपछि फिरोजलाई ई–रिक्सामा राखेर लुम्बिनी प्रादेशीक अस्पालमा पुर्याइयो जहाँ अस्पतालले उनलाई मृत्त घोषाणा गर्यो ।
श्रीमतिमाथि यस्ता थिए शंका गर्ने ठाउँ
प्रहरीले शुरुदेखि नै श्रीमती गतिविधीलाई नियालेको थियो । प्रहरी प्रमुख थापा भन्छन्, ‘हत्या हुँदा उनले आफू कोठाभित्र रहेको बताएकी थिइन् । तर उनका छोराहरुले भने आफूहरुलाई भित्र थुनेर मम्मी बाहिर रहेको बताएका थिए ।’ यहीँबाट प्रहरीले साहिनमाथि शंका गर्न शुरु गरेको थियो । पछि उनको मोबाइलको कल डिटेलबाट हत्याबारे थप रहस्य खुलेको थियो । रातोपाटीले खवर लेखेको छ ।