बारा र पर्सामा भीषण हावाहुरी, २५ जनाको मृत्यु–४ सय भन्दा बढी घाइते

वीरगञ्ज, चैत १८ ।
आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन् ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने घाइतेको उद्धार भइरहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न स्थानका अस्पताल पुर्याउने काम भइरहेको बताइएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको हो ।

हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो अ‘ाधिरहुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ’यस आकस्मिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दछु । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन् ।’ उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ ।