सिलिन्डर पड्किँदा ४ जनाको मृत्यु
सिन्धुपाल्चोक, चैत १२ ।
सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले मंगलबार बिहान नेपालखबरलाई दिएको जानकारीअनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ । मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको सनाखत भएको उनले बताए । मृतकका ठेगाना पूरै खुल्न बाँकी छ ।
शवहरू चिन्नै नसकिने गरी क्षतविक्षत अवस्थामा रहेकाले टाउकाका आधारमा व्यक्ति पहिचान गरिएको डीएसपी काफ्लेले बताए । स्थानीयले अन्य दुई जना पनि हराइरहेको बताएकाले उनीहरूको पनि सोही घटनामा मृत्यु भएको अनुमान गरिएको उनले बताए ।
‘दुई जनाको नाम छ तर अहिल्यै नलेखौं होला, परिवारलाई चोट पर्नसक्छ,’ डीएसपी काफ्लेले भने, ‘तर उनीहरू नभेटिएकाले मृत्यु नै भएको अनुमान छ, शव छरपस्ट भएकाले पहिचान गर्ने काम भइरहेको छ ।’ उक्त हाइड्रोपावरमा काम गर्ने कामदारले भान्सा कोठामा खाजा पकाउने बेला सोमबार साँझ ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर आएलगत्तै बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय र फूलटिमकट्टीस्थित प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र अहिले अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए । ‘टेलिफोन सम्पर्क पनि हुनसकेको छैन घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने ।