अनौठो घटना–गोरखामा कुकुर र चितुवाको झडपमा चितुवाको मृत्यु
गोरखा, चैत ८ ।
पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।
‘बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ’, उनले भने, ‘चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।’ स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए ।
चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उनले बताए । चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए । घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा प्रहरी चौकीबाट प्रहरी टोली तथा डिभिजन वन कार्यालयबाट गएको प्राविधिक टोलीले मृत चितुवालाई वन कार्यालयमा ल्याई गाडेको थियो ।